२०८३ जेष्ठ २५ गते , सोमबार

'भद्रपुर तारा सिजन- २' को नृत्यतर्फ अनमोल र गायनतर्फ शोभा प्रथम

sajilo news
झापा
२०८३ जेष्ठ २४ गते , आईतबार
'भद्रपुर तारा सिजन- २' को नृत्यतर्फ अनमोल र गायनतर्फ शोभा प्रथम

झापाको 'भद्रपुर तारा सिजन- २' को नृत्यतर्फ अनमोल श्रेष्ठ र गायनतर्फ शोभा विश्वकर्मा प्रथम भएका छन् । भद्रपुर नगर कला, साहित्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको आयोजना तथा भद्रपुर नगरपालिकाको विशेष सहयोगमा शनिबार सम्पन्न ग्राण्ड फिनालेमा १० जना प्रतिस्पर्धीमध्ये नृत्यतर्फ श्रेष्ठ र गायनतर्फ विश्वकर्मा प्रथम भएका हुन् ।

प्रतियोगिताको अडिसनमा सहभागी १ सय ५६ प्रतिस्पर्धीमध्येबाट नृत्यमा ११ जना र गायनमा १० जना प्रतिस्पर्धी फिनालेमा छनोट भएका थिए । ती मध्येबाट नृत्य र गायन दुबैतर्फ क्रमशः प्रथमदेखि पाँचौँसम्म घोषित भएका छन् । नृत्यतर्फ प्रथम अनमोल श्रेष्ठ, द्वितीय सेमिहाङमा लिम्बू,, तृतीय ओमलिसा मेचे, चौथो सलिना मगर र पाँचौँमा कुसान तामाङ भएकी थिइन् । त्यस्तै गायनतर्फ प्रथम शोभा विश्वकर्मा, द्वितीय भुवष न्यौपाने, तृतीय रश्मि बस्नेत, चौथो युनिक पाण्डे र पाँचौँमा रोजिना राजवंशी भएकी थिइन् । दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र अरूलाई एक–एक हजार र प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो । 

नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य, उपप्रमुख राधा कार्की, समाजसेवी शिवकुमार राजभण्डारी, वडा ७ का वडाअध्यक्ष अभिषेक ढुङ्गाना, ८ का वडाअध्यक्ष मनोज सुब्बा, ६ का वडाअध्यक्ष रतिया राजवंशी, ४ का वडाअध्यक्ष हंशधर राजवंशी, सेवा निवृत्त सहप्राध्यापक कमला पोखरेल दाहाल, प्राज्ञ हरिप्रसाद पौडेल, उपाध्यक्ष फणीन्द्र पोखरेललगायतको उपस्थिति रहेको थियो । 

 प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानकी सचिव कृति राईले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार लता खरेल र मारवाडी भाषाका कवि सत्यनारायण तायलले आ–आफ्ना रचना वाचन गरेका थिए ।  प्रतियोगिताका निर्णायकमा पवित्रा ओली, सनाहाङ लिम्बु, कुमार अनुरागी, धिरज जैरु लगायत रहेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक लक्ष्मी मिश्रले राखेका थिए । 

सम्बन्धित समाचार