२०८३ जेष्ठ २४ गते , आईतबार

इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प

sajilo news
रासस
२०८३ जेष्ठ २३ गते , शनिबार
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प

वासिङ्ट्न डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब ‘२२ प्रतिशत’ क्षेप्यास्त्र बाँकी रहेको बताएका छन् । एनबीसी न्यूजको ‘मिट द प्रेस’लाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रुपमा नष्ट गरेको बताएका हुन् । 

उनले भने, 'तेहरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको २१ देखि २२ प्रतिशत मात्र बाँकी छ ।” इरानसँग बाँकी रहेको क्षेप्यास्त्र भण्डारको यो अनुमान मे महिनामा ट्रम्पले दिएको १८ प्रतिशतभन्दा बढी हो । यसअघि, उनले इरानको युद्ध क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको दाबी गर्दै आएका थिए ।

यसैबिच इरानी सेनाले शुक्रबार ओमानको खाडीमा रहेका दुई अमेरिकी युद्धक जहाजमा ‘चेतावनीका लागि क्षेप्यास्त्र’ प्रहार गरेको बताएको छ ।

दुई दिनअघि कुवेतले इरानको जघन्य आक्रमणको एक हिस्साका रूपमा प्रहार गरिएका ३० वटा ब्यालेस्टिक क्षेप्यास्त्र निस्क्रिय पारिएको बताएको थियो । दुई देशबिच चेतावनी र हिंसाले भड्किएको हप्तौँदेखिको जटिल वार्ताले युद्ध अन्त्य गर्ने सम्झौता गर्न असफल भएको छ।

अर्को एक प्रसङ्गमा राष्ट्रपति ट्रम्पले ‘इरानसँग सम्झौतामा पुग्नुबाहेक अर्को विकल्प नभएको’ पनि बताएका छन् । उनले भने, 'तिनीहरू बलियो छन र घमण्ड पनि गर्छन् किनकि त्यहाँ अझै चीज (हतियार)हरू छन् । उनीहरू आफैले इरानसँग त्यो पैमानामा हतियार छन् भन्ने कहिल्यै सोचेका थिएनन् ।'

विरोधाभास

तर, ट्रम्पको यो दाबी अमेरिकी गुप्तचर निकायको रिपोर्टसँग मेल खाँदैन । न्यूयोर्क टाइम्सको एक प्रतिवेदन अनुसार गत महिना अमेरिकी सांसदहरूलाई दिइएको एक जानकारीमा इरानले ‘स्ट्रेट अफ हर्मुज’ नजिकै रहेका आफ्ना ३३ क्षेप्यास्त्र स्थानमध्ये ३० भन्दा बढी ‘अपरेशनल कन्ट्रोल’लाई पुनः स्थापित गरेको जानकारी दिइएको थियो ।इरानसँग अझै पनि युद्धपूर्वको तुलनामा ७० प्रतिशत क्षेप्यास्त्र भण्डार रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

सम्बन्धित समाचार