२०८३ जेष्ठ २३ गते , शनिबार

प्रहरी प्रशासनलाई टेरेनन् डान्स बार सञ्चालक, रातभरि खुलेका बिर्तामोडका बारमा प्रहरीको सर्च अपरेशन

एक दर्जन व्यक्ति नियन्त्रणमा

sajilo news
झापा
२०८३ जेष्ठ २३ गते , शनिबार
प्रहरी प्रशासनलाई टेरेनन् डान्स बार सञ्चालक, रातभरि खुलेका बिर्तामोडका बारमा प्रहरीको सर्च अपरेशन

बिर्तामोड । पटक–पटकको चेतावनी र निर्देशनलाई बेवास्ता गर्दै रातभरि युवती नचाएर डान्स बार सञ्चालन गर्ने बिर्तामोडका सञ्चालकमाथि प्रहरीले कडाइ थालेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सन्तोष पाठकको नेतृत्वमा शनिबार मध्यराति बिर्तामोडका विभिन्न डान्स बारमा सर्च अपरेशन सञ्चालन गरिएको छ।

प्रहरीले तृष्णा, दुर्गा, डी डब्लु, नाइट लाइफ, लोटस, हाइप लगायतका डान्स बारमा एकैसाथ अनुगमन तथा सर्च अपरेशन गरेको हो। जन्नत र गन्तव्य डान्स बार भने बन्द अवस्थामा भेटिएको जनाइएको छ। अपरेशनका क्रममा करिब एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अधिकांश डान्स बारहरू निर्धारित समयभन्दा धेरै घण्टा सञ्चालन भइरहेको पाइएको छ। स्थानीय प्रशासनले डान्स बार तथा मनोरञ्जन स्थलहरूलाई राति ११ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिएको भए पनि बिर्तामोडका कतिपय बारहरू रातभरि खुला राख्ने गरिएको भेटिएको हो। जसकारण बिर्तामोडमा अपराधका घटनाहरू पनि बढ्न थालेको छ । बारमा मदिरा सेवन गरी झैझगडा, होहल्ला गर्नेहरू पनि बढ्न थालेको प्रहरीले जनाएको छ । स्थानीयवासीले समेत रातभरि सञ्चालन हुने डान्स बारका कारण शान्ति सुरक्षामा असर परेको गुनासो गर्दै आएका छन्।

प्रहरीको निर्देशनलाई बेवास्ता

डीएसपी पाठकले बिर्तामोडको कमान्ड सम्हालेपछि अवैध तथा नियमविपरीत सञ्चालन हुने व्यवसायमाथि निगरानी बढाएका छन्। केही दिनअघि मात्रै उनले स्पा तथा मसाज सेन्टरहरूमा छापा मारेर तीन जनालाई पक्राउ गरेका थिए। प्रहरी स्रोतका अनुसार डान्स बार सञ्चालकहरूलाई यसअघि पनि पटक–पटक समयसीमा पालना गर्न, शान्ति सुरक्षा खलबलिने गतिविधि नगर्न र कानुनअनुसार व्यवसाय सञ्चालन गर्न मौखिक तथा लिखित रूपमा सचेत गराइएको थियो। तर चेतावनीलाई बेवास्ता गर्दै रातभरि व्यवसाय सञ्चालन भइरहेपछि प्रहरी बाध्य भएर सर्च अपरेशनमा उत्रिएको बताइएको छ।

डान्स बार सञ्चालनसम्बन्धी नियम के छ ?

नेपालमा डान्स बार, दोहोरी साँझ, क्लब तथा अन्य मनोरञ्जन स्थलहरू स्थानीय प्रशासन र सम्बन्धित पालिकाबाट अनुमति लिएर सञ्चालन गर्नुपर्ने व्यवस्था छ। यस्ता व्यवसायले तोकिएको समयसीमा, ध्वनि प्रदूषणसम्बन्धी मापदण्ड, श्रम तथा सुरक्षा सम्बन्धी कानुनी व्यवस्था पालना गर्नुपर्छ। झापासहित अधिकांश जिल्लामा स्थानीय प्रशासनले राति ११ बजेसम्म मात्र यस्ता मनोरञ्जन व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था लागू गरेको छ। तोकिएको समयभन्दा बढी सञ्चालन गरेमा प्रशासनले चेतावनी, जरिवाना, व्यवसाय बन्द गराउने वा कानुनी कारबाही गर्न सक्ने व्यवस्था छ। प्रहरीले बिर्तामोडका डान्स बारहरूमा सञ्चालन गरिएको सर्च अपरेशनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। 

सम्बन्धित समाचार