२०८३ जेष्ठ २२ गते , शुक्रबार

दमककी रमाको हत्यारा अझै अज्ञात, पत्रकारमाथि किन खनियो झापा प्रहरी ?

sajilo news
झापा
२०८३ जेष्ठ २१ गते , विहीबार
दमककी रमाको हत्यारा अझै अज्ञात, पत्रकारमाथि किन खनियो झापा प्रहरी ?

झापा । झापाको दमकमा हत्यापछि बोरामा बाँधेर रतुवा खोलामा फालिएको अवस्थामा दमक नगरपालिका-८ बस्ने २१ वर्षीया रमा तिवारीको शव फेला परेको थियो । घटना घटेको आज छैटौँ दिन हो । तर, झापा प्रहरी अहिलेसम्म हत्यारा पक्राउ गरी सार्वजनिक गर्न असफल देखिएको छ । रमाको हत्यारा पत्ता लगाउन नसकेको झापा प्रहरी संचारकर्मीहरुप्रति आक्रोशित बनेको छ । 

बोरामा हालेर रतुवा खोलाको पानीमा फालेको अवस्थामा रमाको शव फेला पर्दा समेत हत्या भएको पुष्टि गर्न नसकेको प्रहरीले युवतीको घरपरिवार , घटनाका प्रत्यक्षदर्शीलगायतका स्रोतहरू परिचालन गरी सञ्चारमाध्यमहरूले समाचार लेख्दा रोक लगाउन खोज्ने उद्देश्य राखेर विज्ञप्ति नै जारी गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, हत्या भएको घटनामा इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान कार्य भइरहेको विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानको क्रममा रहेका तथ्य, प्रमाण तथा विवरणहरू आधिकारिक स्रोतबाट पुष्टि नभई अनुमान, अड्कल तथा अपुष्ट सूचनाका आधारमा प्रकाशन तथा प्रसारण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुमन बानियालेजारी गरेको विज्ञप्तिमा अनुसन्धानको क्रममा रहेका विषयवस्तुहरू संवेदनशील हुने भएकाले आधिकारिक रूपमा सार्वजनिक नगरिएका विवरणहरू प्रकाशन तथा प्रसारण हुँदा अनुसन्धान प्रक्रियामा प्रतिकूल असर पर्नुका साथै न्याय सम्पादन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने जनाइएको छ ।

करिब दुई– तीन दिनअघि हत्या गरेर खोलामा फालेको अवस्थामा शनिवार बिहान रमाको शव फेला परेको थियो । दुई दिनसम्म शवको पहिचान गर्नमै प्रहरीले समय बितायो । त्यसयता अनुसन्धान गरिरहेको बताउने गरेको प्रहरी दोषीसम्म अझै पुग्न सकेको नसकेको हो । रमाका केटा साथीमाथि शङ्का गरी अनुसन्धान गरिरहेको प्रहरीले हत्याको ठोस प्रमाण भेट्न सकिरहेको छैन ।

 

रमाका केटा साथीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको कुरा दुई दिनअघि नै एक प्रहरी अधिकारी र दमक ८ का वडाध्यक्षले पुष्टि गरेका थिए ।  हत्या भएको पुष्टि भए पनि घटनामा संलग्नलाई पक्राउ गर्ने प्रमाण फेला परि नसकेको एक प्रहरी अधिकारीले बताए । उनले घुमाउरो पारामा भने,‘ दोषी हो कि भनेर छेउमा गयो यस्तो बिजुलीको झड्का हान्छ, उछिट्टाइदिन्छ ।’ घटना भएको दिन रमा एक्लै हिँडिरहेको र उनीसङ अरू कोही पनि नरहेको फुटेजले देखाएको ती प्रहरी अधिकारीले बताए ।

 

सम्बन्धित समाचार