२०८३ जेष्ठ १७ गते , आईतबार

रतुवा खोलामा बोरामा फेला परेकी महिलाको पहिचान खुल्यो, घाँटी कसेर हत्या गरिएको आशंका

sajilo news
पार्थ मण्डल
२०८३ जेष्ठ १७ गते , आईतबार
रतुवा खोलामा बोरामा फेला परेकी महिलाको पहिचान खुल्यो, घाँटी कसेर हत्या गरिएको आशंका

झापाको दमकमा हत्यापछि बोरामा बाँधेर खोलामा फालिएको अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । मृतक दमक नगरपालिका-८ वसन्त टोल निवासी नारायण तिवारीको २१ वर्षीय छोरी रोमा भन्ने रमा तिवारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए । मृतक रमाको सनाखत उनका बुबा नारायणले गरेका हुन्  । रमा जेठ १३ गते राति अन्दाजी साढे ९ बजेको समयमा घरबाट आफूखुसी हिँडेको र घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खडकाले बताए ।  

घटना विवरण अनुसार रमाको शव दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि शनिवार बिहान ११ बजे फेला परेको थियो । सेतो रंगको प्लास्टिकको बोरामा बाँधेर रतुवा खोलाको पानीमा  रही ढाडिएको, रातो भेस्ट, जिन्सको पेन्ट लगाएको महिलाको शव फेला परेपछि खैलाबैला मच्चिएको थियो । महिलाको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको थियो । तत्काल मृतकको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय झापाले महिलाको बायाँ हातमा रहेको ट्याटुको एउटा फोटो सार्वजनिक गरेको थियो ।

सोही फोटोको आधारमा मृतकको पहिचान खुलेको डीएसपी खडकाले बताए । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा पहिचान खुलेको रमाको पाइपले घाँटीमा कसेर हत्या गरेको देखिन्छ । 'रमाको शव बगेर नआई हत्या गरी पुलमाथिबाट रतुवा खोलामा फालेको हुनसक्ने आशङ्का छ, पुलमाथिबाट फाल्दा बोरा फुटेर हात र कपाल बोराबाट बाहिर निस्किएको हो,' डीएसपी खडकाले भने । 

 रमाको हत्यारासहितको घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतको कमान्डमा अनुसन्धान टोली खटाइएको छ । शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानसहित प्रादेशिक अस्पताल भद्रपुरबाट फरेन्सिक डाक्टरसहितको टोली घटनास्थल पुगेको थियो । शवलाई पोस्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ ।

सम्बन्धित समाचार