२०८३ जेष्ठ १६ गते , शनिबार
झापाको कनकाईमा धारिलो हतियार प्रहार, एक गम्भीर घाइते
कनकाई । पुरानो रिसिबीका कारण झापाको कनकाईमा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार भएको छ। शुक्रबार साँझ करिब ६ः१० बजे बाटोमा हिँडिरहेका बाह्रदशी गाउँपालिका–७ निवासी ३० वर्षीय सूर्यलाल राजवंशीमाथि कनकाई नगरपालिका–५ तुलसीबारी निवासी २५ वर्षीय दीपक बिष्टले दाउ प्रहार गरेको प्रहरीले जनाएको छ।
हातहतियार प्रहारबाट राजवंशी गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले दाउसहित बिष्टलाई नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ।
घाइते राजवंशीको प्रारम्भिक उपचार कनकाई नगर अस्पताल, सुरुङ्गामा गरिएको थियो। अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।