झापाका कन्सल्टेन्सीमाथि प्रशासनको निगरानी
झापा । देशका विभिन्न जिल्लाहरूमा सञ्चालित कन्सल्टेन्सीहरूमाथि छापा मार्ने काम भइरहेका बेला झापामा समेत तयारी तीव्र बनाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै ठगी गरेको उजुरी हालसम्म झापामा नआए पनि अवैध रुपमा कन्सल्टेन्सी सञ्चालनमा रहेको हुन सक्ने भन्दै प्रशासन कार्यालयले निगरानी बढाएको छ ।
शैक्षिक परामर्श केन्द्रहरूले विद्यार्थीलाई परामर्श मात्र दिनुपर्नेमा म्यानपावर जस्तै पासपोर्ट नै राख्ने गरेको गुनासो आएकाले जिल्ला प्रशासन कार्यालयले निगरानी शुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवक्ता तथा सूचना अधिकारी तेज प्रकाश प्रसाईँले जानकारी दिए ।
शैक्षिक परामर्श केन्द्रले पालना गर्नुपर्ने मापदण्ड, प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी विना इजाजत शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा र भाषा शिक्षणसम्बन्धी सेवा दिँदै आएको भेटिएको तथा अनधिकृत रुपमा कुनै गतिविधि गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईँले बताए ।
विभिन्न जिल्लाहरूमा पछिल्लो समय म्यानपावर कम्पनीभन्दा शैक्षिक परामर्श केन्द्रबाट ठगी परेको भन्दै उजुरी आइरहेकाले झापामा समेत निगरानी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झापामा करिब दुई सयको सङ्ख्यामा कन्सल्टेन्सीहरू सञ्चालनमा रहेका छन् । शिक्षा र वैदेशिक रोजगार विभागबाट प्रभावकारी अनुगमन नहुँदा शैक्षिक परामर्श केन्द्रबाट विद्यार्थीको नाममा वैदेशिक रोजगारीमा श्रमिक पठाउने क्रम बढ्दो छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले जिल्लामा कसैले पनि कन्सल्टेन्सीहरूले ठगी गरेको भनेर उजुरी दर्ता नभएको बताइन् । उनले जिल्ला प्रशासन कार्यालयले अनुगमनको तयारी गरिरहेको विषयमा आफू प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर अघि बढ्ने उल्लेख गरिन् । उनले व्यक्तिगत ठगीका उजुरीहरू भने आउने गरेको जानकारी दिइन् ।
यता नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष राजकुमार कार्कीले जिल्ला प्रशासन कार्यालयले गर्ने अनुगमनलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले २०८२ साल भदौ २ गते नै तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई इक्यानको तर्फबाट ज्ञापन पत्र बुझाउँदै कन्सल्टेन्सीहरूको अनुगमन गरिदिन आग्रह गरेको जानकारी दिए ।
अध्यक्ष कार्कीले हालका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई समेत यो विषयमा अवगत गराएको भन्दै आफूहरू अनुगमनको पक्षमा रहेको स्पष्ट पारे । इक्यानमा आबद्ध कुनै पनि कन्सल्टेन्सीहरूले गैरकानुनी कार्य गरेको पाइएमा त्यस्ता शैक्षिक परामर्शको पक्षमा आफूहरू लाग्न नसक्ने स्पष्ट पारे । इक्यान झापामा हाल करिब ५० को सङ्ख्यामा मात्रै शैक्षिक परामर्श केन्द्रहरू आबद्ध रहेका छन् ।