काँकडभिट्टामा ब्राउन सुगरसहित युवक पक्राउ
झापाको काँकडभिट्टामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका–६ त्रिवेणी चौक निवासी १८ वर्षीय विवेक यादव रहेका छन् ।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब २ः३० बजे मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलमुनि भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यादवलाई इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर शरीर तलासी गरेका थिए ।
त्यस क्रममा उनले लगाएको जिन्स पाइन्टको पेटीभित्र लुकाई राखेको अवस्थामा १४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट भिभो कम्पनीको एक थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका यादवमाथि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।