भद्रपुर नाकाबाट ब्राउनसुगर नेपाल सप्लाई गर्ने एक कारोबारी गलगलियामा समातिए
भद्रपुर । सीमावर्ती क्षेत्रमा लागू औषधको सप्लाई गर्ने एक कारोबारी भारतको गलगलियामा पक्राउ परेका छन् । गलगलिया प्रहरी र एसएसबीको संयुक्त कारबाहीमा ती कारोबारीको साथबाट ठुलो मात्रामा ब्राउन सुगर, नगद र विदेशी मुद्रा बरामद गरिएको जनाइएको छ । गोप्य सूचनाका आधारमा ती कारोबारीलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोहम्मद हनीफका छोरा ४८ वर्षीय चान मोहम्मद रहेका छन् । मोहम्मदले ब्राउन सुगर भद्रपुर नाकाबाट नेपाल सप्लाई गर्दै आइरहेका थिए । गलगलिया प्रहरी, एसएसबी भातगाउँ र एसएसबी नेमुगुरीको संयुक्त टोलीले हनीफको घरमा छापा मारेको थियो।
छापा मार्ने क्रममा संयुक्त टोलीले १२० ग्राम ब्राउन सुगर, एक इलेक्ट्रोनिक मेसिन, ७ लाख ७६ हजार ५०० भारतीय रुपैयाँ, १ लाख २८ हजार नेपाली रुपैयाँ , कतारको २७ नोट, मलेसियाको एक नोट, चीनको १० नोट, साउदी अरबको १२ नोट र एक मोबाइल फोन बरामद गरेको थियो। उनीविरुद्ध थप कानुनी कारबाही भइरहेको छ। भारतीय प्रहरीले लागूऔषध नेटवर्क फैलिएको क्षेत्र र विदेशी मुद्राको स्रोतबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ ।