बिर्तामोड नगरपालिकामा २३६१ घरधुरीद्वारा सरकारी जग्गा अतिक्रमण
बिर्तामोड नगरपालिकामा २ हजार ३६१ घरधुरीले सरकारी जग्गा अतिक्रमण गरेको विवरणले देखाएको छ । विभिन्न वडा कार्यालयहरूले संकलन गरेको विवरणबाट सो तथ्यांक निकालिएको हो । सबैभन्दा बढी घरधुरीले वडा नं ६ मा अतिक्रमण गरेको देखिएको छ भने सबैभन्दा कम वडा नं ९ मा ४७ परिवारले सरकारी जग्गामा घर बनाएको पाइएको छ । वडा नं १ मा १६४ , वडा नं २ मा १३६ , वडा नं ३ मा २१२ , वडा नं ४ मा २२५ , वडा नं ५ मा ३५७ , वडा नं ६ मा ४७० , वडा नं ७ मा ३५३ , वडा नं ८ मा ९३ , वडा नं ९ मा ४७ र वडा नं १० मा ३०४ परिवारले सरकारी जग्गा ओगटेका हुन् । उनीहरू ऐलानी , पर्ती, सार्वजनिक र गुठी संस्थाको जग्गामा बसेका छन् ।
वडा नं १ मा सरकारी जग्गा किनबेच
बिर्तामोड वडा नं १ मा दलित सुकुम्बासी १२ घर , भूमिहीन सुकुम्बासी ८५ घर र अव्यवस्थित बसोबासी ६७ घर रहेका छन् । त्यस वडामा कि .नं ६२१ मा १ विगाह , कि. नं २४८ मा ४ कट्ठा, कि. नं ६२२ मा ७ कट्ठा, कि. नं ६२५ मा ६ कट्ठा, कि. नं ६२३ मा ५ कट्ठा साढे ५ धुर , कि. नं ६१६ मा ५ कट्ठा, कि. नं ४५३ मा २ कट्ठा, कि. नं १४९३ मा ५ कट्ठा साढे ५ धुर , कि. नं १४९४ मा ५ कट्ठा , कि. नं १४१ मा ४ कट्ठा सरकारी जग्गा रहेको छ । कि. नं २४५ को क्षेत्रफल खुलिसकेको छैन । कि. नं ६२२ को जग्गामा बसोबास गर्ने मुखको भाग भगवती आवास कम्पनी प्रालि र केही व्यक्तिहरूबाट किनबेच गरी आएको र सो कित्तामा बसोबास गरिरहेका बासिन्दाहरू जिट्रेट कम्पनीको नामको जग्गामा बसोबास गरी आएको देखिएको छ ।
वडा नं २ मा सरकारी, मन्दिर , आश्रम र स्कुलको जग्गा अतिक्रमण
बिर्तामोड वडा नं २ मा सरकारी, मन्दिर , आश्रम , खोला पैनी , स्कुलको जग्गा अतिक्रमण भएको छ । बिर्तामोड २ साबिक चारपाने २महेन्द्र राजमार्गको सरकारी जग्गामा २६ घर , सार्वजनिक उपयोग सांस्कृतिक तथा पुरातात्त्विक महत्वको श्रीकृष्ण प्रणामी मन्दिरको नाममा रहेको जग्गामा ३ घर , शारदेश्वर मन्दिरको नाममा रहेको जग्गामा ६ घर , वीर अमरसिंह माविको जग्गामा १५ घर , पञ्चरत्न माविको जग्गामा १ घर, चैतुवारी क्षेत्रको ऐलानी जग्गामा २९ घर, बालुवाटार क्षेत्रमा ६५ घर , घाग्रा खोला किनारमा १८ घर , बानालाल टोल पैनीमा ११ घर , स्वर्गद्वारी टोलको सरकारी जग्गामा १३ घर , सोमवारे टोलमा ६ घर , राधाकृष्ण टोलमा १३ घर र फूलबारी कच्छुवारी टोलमा ८ घर बसोबासित रहेको वडा कार्यालयको विवरणमा उल्लेख छ ।
बिर्तामोड ३ मा २१२ परिवारद्वारा सरकारी जग्गा अतिक्रमण
बिर्तामोड वडा नं ३ मा २१२ परिवारले सरकारी जग्गा अतिक्रमण गरेको पाइएको छ ।
बिर्तामोड ३ मा ऐलानी , पर्ती र गुठीको गरी ८१ विगाह ४ कट्ठा सरकारी जग्गा रहेको छ । तिनै जग्गामा अतिक्रमण भएको हो । बिर्तामोड ३ मा सबैभन्दा बढी प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कलवलगुडी भद्रपुरको नाममा रहेको जग्गा अतिक्रमण भएको छ । प्रशिक्षण केन्द्रको नाममा ५१ विगाह जग्गा रहेको छ । त्यहाँ २५ परिवारले घर बनाएका छन् । विभिन्न व्यक्तिहरूले जोतभोग गरी घर बनाएका हुन् । मोहियानी हक पाउनु पर्ने भन्दै सर्वोच्च अदालतसम्म पुगेका जग्गा कमाउनेहरूले अन्ततः मोहियानी हक पाएनन् । करिब दुई वर्षअघि नै सर्वोच्चले मोहियानी हक नपाउने फैसला सुनाएपनि उनीहरूले जग्गा छाडेका छैनन् । त्यहाँ घर थपिँदै गएको छ ।
त्यस्तै महेन्द्र रत्न माध्यमिक विद्यालयको ३ कट्ठा जग्गा अतिक्रमण गरी १० परिवारले घर बनाएका छन् भने करेलावारी टोलमा १ विगाह ऐलानी जग्गामा ३० वटा घर रहेको छ । त्यस्तै विराट पोखरी टोलको ३ विगाह ऐलानी जग्गामा २७ घर , चौसठ्ठी काली टोलको एक विगाह ऐलानी जग्गामा ३० घर , प्रगतिनगरको १ विगाह ऐलानी जग्गामा ३० घर , बिर्ताबजार गोसलाइनको १० कट्ठा सरकारी जग्गामा २० घर रहेका छन् ।
त्यस्तै डोकालाल राजवंशीले दान दिएको देवी गुठीको १३ विगाह जग्गामा ४० घरधुरी बसेका छन् । राधाकृष्ण मन्दिरको १ विगाह ११ कट्ठा जग्गा भने खाली नै रहेको छ ।
बिर्तामोड ४ मा पनि सतानु पैनी अतिक्रमण
बिर्तामोड ४ मा पनि सतानु पैनी अतिक्रमण भएको छ । त्यस वडामा सतानु पैनीको ४५७२ वर्ग मिटर सतानु पैनीको जग्गामा ५० वटा घर रहेको छ । त्यस्तै महेन्द्र राजमार्गबाट दक्षिण शिवनगर , कालिका, मेघावारी , मुनाल, सुन्दर, सूर्योदय, लालीगुराँस , भक्तवारी टोलहरु र अधुवा खोलाको दायाँ बायाँ १३५ घरले अतिक्रमण गरेको पाइएको छ ।
बिर्तामोड ५ मा ३१४ परिवारद्वारा पैनी अतिक्रमण
बिर्तामोड नगरको मुटु वडा नं ५ मा ३५७ परिवारले सरकारी जग्गा अतिक्रमण गरेको विवरणले देखाएको छ ।
बिर्तामोड ५ मा सबैभन्दा बढी सतानु पैनीमा अतिक्रमण भएको छ । त्यहाँ सतानुलगायतका पैनीमा ३१४ परिवारले बसोबास गरिरहेका छन् । पैनीको ६ विगाह ३ कट्ठा जग्गामा ३१४ परिवारका १५७० जनाको बसोबास देखिएको हो । त्यस्तै १० कट्ठा बाटोमा २६ घरधुरीका १३० जना , महेन्द्ररत्न माविको १५ कट्ठा जग्गामा ८ घरधुरीका ४० जना र साल्ट ट्रेडिङको ३ कट्ठा जग्गामा ९ घरधुरीका ४५ जना बसेका छन् ।
बिर्तामोड ६ मा भद्रपुर माविको साढे १७ विगाह जग्गा कव्जा
बिर्तामोड ६ स्यालडाँगीमा भद्रपुर माविको साढे १७ विगाह जग्गा करिब ४०० घरधुरीले कव्जा गरेका छन् । त्यस्तै घण्टीवारीमा महेन्द्ररत्न माविको १ विगाह १७ कट्ठा जग्गामा १५ घरधुरीले घर बनाएका छन् । त्यस्तै बिर्तामोड ६ को ३ विगाह ऐलानी जग्गामा ५५ घर रहेका छन् ।
बिर्तामोड ७ मा खोला, जंगल र स्कुलको जग्गा अतिक्रमण
बिर्तामोड ७ मा खोला, जंगल र स्कुलको जग्गा अतिक्रमण भएको छ । देउनिया खोलाको धारमा २५ घर , रेखा खोलाको धारमा ३ घर , हर्चना खोलाको धारमा ३ घर , जंगलमा १० घर , बाटोमा ३ घर , ऐलानी जग्गामा २९० घर , लक्ष्मी आधारभूत विद्यालयको जग्गामा ७ घर , त्रिभुवन आधारभूत विद्यालय चुहानडाँडाको जग्गामा १२ घर बसेका छन् । जनता प्राथमिक विद्यालयको बिर्तामोड ८ मा रहेको जग्गाको विवरण खुलेका छैन।
बिर्तामोड ८ को गरामनीमा हाट बजारको जग्गामा २८ घर
बिर्तामोड ८ को गरामनीमा हाट बजारको नाममा रहेको जग्गामा २८ वटा घर रहेको छ । त्यहाँ उनीहरूले १ विगाह जग्गा ओगटेका छन् । त्यस्तै महेन्द्ररत्न माविको नाममा रहेको १ विगाह जग्गामा १ घर , देवी गुठीको ८ विगाह जग्गामा १२ घर , सेन्ट जेभियर्स स्कुल दक्षिण १ विगाह ५ कट्ठा ऐलानी जग्गामा २० घर , देउनिया पुल उत्तर २ विगाह ऐलानी जग्गामा १२ घर र स्कुलडाँडाको २ विगाह ऐलानी जग्गामा २० घर बसेका छन् ।
बिर्तामोड ९ मा १५ कट्ठा हदभन्दा बढीको जग्गा
बिर्तामोड ९ मा १५ कट्ठा हदभन्दा बढीको जग्गा रहेको छ । त्यस्तै शिवालय मन्दिर बिर्तामोड ३ को नाममा रहेको ७ विगाह गुठीको जग्गामा ४ घर बसेका छन् भने १२ विगाह १० कट्ठा ऐलानी पर्ती जग्गामा ४३ घरको बसोबास छ । बिर्तामोड ९ मा दुर्गा माविको नाममा ४ विगाह १० कट्ठा र महेन्द्ररत्न मावि बिर्तामोड ३ को नाममा १ विगाह १ धुर जग्गा रहेको छ ।
बिर्तामोड १० मा १३ विगाहमा ३०४ घर
बिर्तामोड १० मा १३ विगाह सरकारी ऐलानी जग्गामा ३०४ परिवार बसेका छन् । पूर्वराजा महेन्द्र शाहले २०१५ सालमा इलामबाट भूतपूर्व सैनिकका परिवारलाई बिर्तामोड १० सैनिकबजारमा पुनर्वास गराएका थिए । उनीहरू बसेको जग्गाको मोठ अहिले पनि जंगल नै देखिन्छ ।