२०८३ बैशाख २१ गते , सोमबार

बिर्तामोड चोरी घटनाका दुई फरार मुख्य आरोपी पक्राउ

sajilo news
झापा
२०८३ बैशाख २१ गते , सोमबार
बिर्तामोड चोरी घटनाका दुई फरार मुख्य आरोपी पक्राउ

बिर्तामोड-४ नयाँवारिका मुस्लिम समुदायका दुई आमाछोरीलाई चोरी तथा लागूऔषधको आरोपमा पक्राउ गर्दा आलोचना खेपेको प्रहरीले अन्ततः सफलता हात पारेको छ ।

चोरीमा संलग्न भएर फरार भएका दुईजना मुख्य आरोपीलाई पक्राउ गरी घटनालाई पुष्टि गर्न प्रहरी सफल बनेको हो । गत मङ्सिर २ गते अर्जुनधारा-६ कप्तानबारी बस्ने ४० वर्षीय दुर्गाबहादुर पौडेल खत्रीको घरमा भएको चोरीका घटनामा संलग्न बिर्तामोड-४ नयाँवारि बस्ने ३२ वर्षीय आसिक आलम र भारत बङ्गाल घर भएका अन्सार आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

गएराति ९ः४५ बजे भद्रपुर ५ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गुरुप्रसाद निरौलाले बताए । इलाका प्रहरी कार्यालय बिर्तामोडमा चैत १ गते उनीहरूमाथि किटानी जाहेरी परेको थियो भने जिल्ला अदालत झापाबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो । चोरी गरेपछि फरार भएका उनीहरू भारतमा लुकेर बसेका थिए । घटनापश्चात् भारतमा लुकीछिपी बसिरहेकोमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नेपालतर्फ आउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा फेला पारी पक्राउ गरिएको डीएसपी निरौलाले जानकारी दिए ।

गत फागुन २९ गते राति ११ः३० बजे बिर्तामोड वडा नं.४ नयाँबारीस्थित जगत् बस्नेतको घरमा डेरा गरी बस्ने आलम लगायतले लागूऔषध बिक्री गरिरहेको र चोरीका धनमाल लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकडभिट्टाको संयुक्त टोली अपरेशनमा खटिएको थियो ।

टोलीले उक्त स्थानमा खानतलासी गर्दा सोही घरमा डेरा गरी बस्ने आलमकी श्रीमती २८ वर्षीया मसिना खातुनको साथबाट स्रोत नखुलेको शङ्कास्पद नेपाली नगद रु ६ लाख ३५ हजार ४६०, भारतीय रुपैयाँ २ लाख ४६ हजार , करिब ३ तोला सुन र ४ तोला चाँदीका विभिन्न गहनाहरू बरामद भएको थियो । बरामद भएका ती धनमाल चोरीसँग सम्बन्धित हुन सक्ने देखिएकाले अनुसन्धानका लागि मसिना खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खानतलासी गर्दा मसिना खातुनका श्रीमान् आलम घरमा फेला परेका थिएनन् । त्यसकारण प्रहरीले मसिना खातुनको साथमा रहेकी उनकी छोरी आसिदा खातुनलाई समेत लिएर आएको थियो । निर्दोष मसिना र उनकी छोरी आसिदालाई पक्राउ गरेको भन्दै त्यसबेला प्रहरीको आलोचना भएको थियो ।

सम्बन्धित समाचार