बिर्तामोड चोकमा ३४० र गरामनी बजारमा २८ परिवारद्वारा सरकारी जग्गा अतिक्रमण
बिर्तामोड । बिर्तामोड नगरको मुटु वडा नं. ५ मा ३४० परिवारले र बिर्तामोड ८ गरामनी बजारका २८ परिवारले सरकारी जग्गा अतिक्रमण गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापालाई पेश गर्नका लागि वडा कार्यालयहरूले संकलन गरेको विवरणमा उल्लेख छ। बिर्तामोड ५ मा सबैभन्दा बढी सतानु पैनीमा अतिक्रमण भएको छ । त्यहाँ १३१ परिवारले बसोबास गरिरहेका छन् ।
त्यस्तै सिमली बस्ती , बिर्तामोड खानेपानी कार्यालय पूर्वपट्टि, जात्रुवारीको शिवालय मन्दिर अगाडि , गणपति क्याफेको पश्चिमपट्टि र अधुवा खोलाको पूर्वपट्टि एमिटी कलेजको छेउको सरकारी जग्गा सुकुमबासीको नाममा ओगटिएको वडा कार्यालयले जनाएको छ ।
उनीहरूले ओगटेको जग्गाको क्षेत्रफल भने यकिन भएको छैन । बिर्तामोड ५ मा सतानु पैनीको १ बिघा ३ कट्ठा जग्गा सुकुमबासीको नाममा विभिन्न व्यक्तिहरूले कब्जा गर्नुका साथै नम्बरी जग्गा भएका धेरै व्यक्तिहरूले समेत मिचेका छन् ।
त्यसैगरी गरामनी हाटबजारको करिब एक बिघा जग्गा ओगटेर भवन र पसल बनाएका हुन् । उनीहरूले पाँच धुरदेखि एक कट्ठा जग्गासम्म ओगटेको पाइएको छ । पुरानो बसोबास भएर नापी कार्यालयले लालपुर्जा वितरण गरेपनि सो जग्गा गरामनी हाटबजारकै नाममा देखिन्छ । भूमिसुधार तथा मालपोत कार्यालय झापाले हाटबजारको सरकारी जग्गा ती व्यक्तिहरूको नाममा दर्ता गरेको छैन ।
सरकारी जग्गामा ठुलठुला भवनहरू निर्माण गरिएका छन् । बिर्तामोड भद्रपुर सडकको दक्षिणपट्टि संयुक्त वडा कार्यालयको पूर्वपट्टि गरामनी बजारका घरहरू त्यही सरकारी जग्गामा अवस्थित छन् । लालपुर्जा प्राप्त गरेर बिर्तामोड नगरपालिकामा नक्सा पास गरेर घरहरू बनाएपनि अहिलेसम्म मालपोतले जग्गा अद्यावधिक नगरिदिएको एक बसोबासीले बताए ।
गरामनी बजारमा सरकारी जग्गा अतिक्रमण गरी बसेको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा केही वर्षअघि उजुरी परेको थियो । त्यस सम्बन्धमा छानबिन गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट टोली झापा आएको थियो । आफूहरूले सो जग्गासम्बन्धी सम्पूर्ण कागजपत्र विभागमा पठाएको भूमिसुधार तथा मालपोत कार्यालय झापाका प्रमुख सुवास श्रेष्ठले बताए । उनले सो जग्गाको मोठमा गरामनी हाटबजार देखिएकाले आफ्नो कार्यालयका तर्फबाट दर्ता गर्न नसकिने स्पष्ट पारेका छन् ।
सो सरकारी जग्गामा तीनतला सम्मको घरहरू निर्माण गरिएका छन् । २८ परिवारको बसोबास भएपनि त्यहाँ तीन परिवार मात्र सुकुम्वासी भएको बताइएको छ । आफूहरूले सो सरकारी जग्गामा बसेका बसोबासीहरुको विवरण पनि जिल्ला प्रहरी कार्यालयमा पठाएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताए । गरामनी हाटबजारको नाममा रहेको जग्गा मासिँदै गएको छ । अहिले बजार लगाउन ८ कट्ठा जग्गा मात्र खाली रहेको छ ।