मण्डल परिवारलाई सहयोग रकम हस्तान्तरण
भद्रपुर । भद्रपुर नगरपालिका–६ स्थित बंगाली टोल निवासी महादेव मण्डल परिवारलाई सहयोग रकम हस्तान्तर गरिएको छ । भद्रपुर–७ निवासी समाजसेवी दम्पती रुद्र भूर्तेल एवम् हीरा वाग्ले भूर्तेलले संकलन गरेको एक लाख ७ हजार २ सय ३२ रुपैयाँ पत्रकार र स्थानीयको उपस्थितिमा मण्डल परिवारलाई भद्रपुर नगरपालिकाकी उप–प्रमुख राधा कार्कीले हस्तान्तरण गरेकी थिइन् ।
महादेव मण्डलकी पत्नी इना विगत ४ वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको र विपन्नताका कारण उपचार गराउन कठिनाइ झेलिरहेको अवस्था जानकारी भएपश्चात् सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा भद्रपुर–७ घर भई हाल अमेरिकामा अध्ययनरत मनीष भूर्तेलको अग्रसरतामा अमेरिकी संस्था 'Go Fund Me' का स्टेफेन स्टक, श्याम वाग्ले, निष्ठा भूर्तेल, प्रकृति सुवेदी, सञ्जीव रोका, सचिन शर्मा, सोविष निरौला, कृतिष पोखरेल, गोरख खत्री, आमात्य बीसी, मञ्जिल रावल, लोटस खनाल, उमंग बराल, उत्सव खकुरेल, शक्ति तिवारी, युवराज शिवाकोटी, आनन्द तिवारी, समीर राई, आर्यन पन्थी, सरोज शर्मा, नितेन लामा, जविन श्रेष्ठबाट प्रदत्त ६९१.५१ डलर बराबर हुने नेरु. १ लाख ३ हजार ७२७ र भद्रपुरमै संकलन भएको ३ हजार ५०५ गरी कूल हुने १ लाख ७ हजार २ सय ३२ रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
उपचारार्थ रकम संकलन हुँदै गर्दाकै अवस्थामा क्यान्सरपीडित ४५ वर्षीया इनाको स्थानीय प्रादेशिक अस्पतालमा उपचारकै क्रममा निधन भएपछि संकलित सो सहयोग रकममध्ये श्रीमतीको काजक्रियाका लागि ५० हजार रुपैयाँ र कक्षा–११ मा अध्ययनरत छोरीको अध्ययन जारी राख्नका निम्ति ५७ हजार २३२ रुपैयाँ प्रदान गरिएको दाता रुद्र भूर्तेलले बताए । अमेरिकामा उपचार रकम संकलन गर्न अगुवाइ गर्ने मनीष भद्रपुर–७ निवासी रुद्र भूर्तेल दम्पतीका छोरा हुन् ।