२०८२ चैत्र १५ गते , आईतबार

इरानी उर्जा क्षेत्रमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

sajilo news
एजेन्सी
२०८२ चैत्र १३ गते , शुक्रबार
इरानी उर्जा क्षेत्रमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप १० दिन इरानी ऊर्जा साइटहरूमा आक्रमण नगर्ने घोषणा गरेका छन्। नयाँ समयसीमा अब अप्रिल ६ को लागि तय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुई देशहरूबीच जारी वार्तालाई अगाडि बढाउन यो निर्णय गरिएको उनले बताए। सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानी सरकारको अनुरोध बमोजिम १० दिन आक्रमणमा रोक लगाएको उनको भनाइ छ।

यसअघि ट्रम्पले इरानी ऊर्जा साइटहरूमा पाँच दिन आक्रमण नगर्ने घोषणा गरेका थिए, जुन समयसीमा आज सकिँदै छ। इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे आक्रमण जारी राख्ने ह्वाइट हाउसले चेतावनी दिएको छ। इरान वार्तामा नआए अमेरिकाले लगातार आक्रमण गर्ने चेतावनीसमेत ट्रम्पले दिएको बताइएको छ। 

तर, इरानी अधिकारीहरूले भने अमेरिकासँग कुनै वार्ता नभएको प्रतिक्रिया दिएका छन्। यसअघि, इरानले अमेरिकाले प्रस्ताव गरेको शान्तियोजना अस्वीकार गरिसकेको छ। 

यसैबीच, अमेरिकाले इरानको खार्ग टापुमा स्थल आक्रमण गर्नसक्ने रिपोर्टहरू आएका छन्। प्रतिक्रियामा, इरानले बाब–एल–मन्डेब जलडमरूम बन्द गर्ने धम्की दिएको छ। बाब–एल–मन्डेब लाल सागरको प्रवेश बिन्दू हो। यसले लाल सागरलाई अरब सागरसँग जोड्छ। यो विश्वको चौथो ठूलो ढुवानी मार्ग हो।

इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूममा शत्रु जहाजहरू रोक्नु इरानको कानूनी अधिकार भएको बताए। मिडिया रिपोर्टहरुका अनुसार, संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेससँगको कुराकानीमा अराघचीले समुद्री मार्गमा बढ्दो असुरक्षा अमेरिका र यहूदी शासनको कार्यको परिणाम भएको बताएका थिए।

सम्बन्धित समाचार