२०८३ बैशाख २ गते , बुधबार

मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

sajilo news
रासस
२०८२ चैत्र ११ गते , बुधबार
मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्डफ्लु सङ्क्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरी मंगलबार पुरेको छ ।

“त्यहाँ अझै मरेका काग भेटिएका छन्, मरेका सबै काग आज सङ्कलन गर्न नसकिएकाले भोलि पनि काम जारी राख्ने छौँ”, रासससँग कुरा गर्दै नगरपालिकाकी पशु सेवा प्रमुख सुशीला गैरेले बताइन् । उनका अनुसार शाखामा एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए ।

प्रमुख गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशु सेवा विभागको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालामा परीक्षण गरेपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो । त्यसपछि नगरपालिका र पशु सेवा विभागका टोलीले आज मरेका काग सङ्कलन गर्ने निर्णय गरेको थियो । साथै सोही स्थानमा अन्य पंक्षी मृत भेटिएमा सोको नमुना सङ्कलन गर्न निर्देशन पनि टोलीलाई दिइएको थियो । सोहीअनुसार आज अपराह्न ३ बजेदेखि मृत काग सङ्कलन गर्न थालिएको थियो । मंगलबार सङ्कलन गरिएका ६४ वटा काग खाल्डो खनी गाडिएको छ ।

उद्यानमा अन्य चरा भने त्यसरी मरेको नभेटिएको प्रमुख गैरेले बताइन् । “खुला स्थानमा जताततै उड्ने पंक्षी भएकाले कुखुरामा देखिने बर्डफ्लुभन्दा यसको नियन्त्रण जटिल हुन्छ”, उनले भनिन् । उनका अनुसार कीर्तिपुर नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ ।

सम्बन्धित समाचार