बिर्तामोडका अग्रवालमाथि हिरासत कक्षमै कुटपिट घटना : ‘हेल्लो सरकार’ मा उजुरीपछि थाल्यो छानबिन
बिर्तामोडका युवा व्यवसायी कृष्ण अग्रवालमाथि हिरासत कक्षमै कुटपिट भएको घटनामा ‘हेल्लो सरकार’ले चासो देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित ‘हेल्लो सरकार’ मा उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । घटनाबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएसँगै सम्बन्धित निकायले पीडित अग्रवालसँग बयान लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनि परिसरमा बोलाएर अग्रवालसँग घटनाको वास्तविकता बुझ्दै प्रारम्भिक प्रतिवेदन तयार गरिएको जनाइएको छ ।
अग्रवालसँग सोमवार बयान लिइएको हो । शनिवार इलाका प्रहरी कार्यालय परिसरमा अग्रवाललाई बोलाएर प्रहरीले खाली कागजमा हस्ताक्षर गर्न भनेपछि उनी हस्ताक्षर नगरी निस्किएको बताएका थिए । उनलाई इलाका प्रहरी कार्यालय अनारमनिका वरिष्ठ प्रहरी नायव निरीक्षक देवराज निरौलाले खाली कागजमा हस्ताक्षर गर्न लगाएको अग्रवालको भनाइ छ । तर, आफूले खाली कागजमा हस्ताक्षर नगर्ने र लेखेको विषय अध्ययन गरेपछि मात्रै हस्ताक्षर गर्ने बताउँदै आफू इलाका प्रहरी कार्यालयबाट बाहिरिएको उनको भनाइ छ ।
तर, पुन सोमवार अग्रवाललाई प्रहरीले बोलाएपछि उनी बिर्तामोडका व्यवसायी तथा सामाजिक अगुवासहित इलाका प्रहरी कार्यालय पुगेका थिए र घटनाको वास्तविकता प्रहरी समक्ष भन्दै प्रतिवेदन तयार गर्न सहयोग गरेको बताइएको छ । सार्वजनिक निकायका कामकारबाही सम्बन्धी गुनासो, जिज्ञासा तथा सुझाव दिन सकिने व्यवस्था अन्तर्गत उक्त प्रकरण ‘हेल्लो सरकार’ मा दर्ता भएको हो ।
उजुरीपछि छानबिनमा तदारुकता देखाउँदै पीडितसँग विस्तृत बयान लिएको बताइएको छ । प्रहरीले लिएको लिखित बयानमा अग्रवालले आफूलाई बिना कारण पक्राउ गरी हिरासतमा राखेर कुटपिट तथा यातना दिएको उल्लेख गरेका छन् ।उनले अदालतमा विचाराधीन मुद्दामा साक्षी बसेकै कारण आफूमाथि यस्तो व्यवहार भएको दाबी गरेका छन् ।
बिर्तामोड नगरपालिका–५ निवासी अग्रवाललाई इलाका प्रहरी कार्यालय अनारमनीले गत शनिवार नियन्त्रणमा लिएको थियो । झापा जिल्ला अदालतमा दर्ता ‘झुट्टा प्रमाण एवम् परिस्थिति निर्माण’ सम्बन्धी मुद्दामा उनी साक्षीका रूपमा रहेका थिए । उक्त मुद्दा बुद्धशान्ति–२का प्रज्ज्वल कार्कीले कनकाई–२, सुरुङ्गाका निर्मल श्रेष्ठविरुद्ध दायर गरेका थिए ।
घटना अनुसार, शनिवार बिर्तामोडस्थित अतिथि सदनमा श्रेष्ठ पक्षका केही व्यक्तिले अग्रवाललाई नियन्त्रणमा लिएर अभद्र व्यवहार गरेको बताइएको छ । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाएको बताइएको छ । तर, अनुसन्धान नगरी प्रहरीले प्रभावमा परेर अग्रवाललाई नै पक्राउ गरी हिरासतमा राखेको आरोप लागेको छ । उक्त विवादको जडमा विदेश पठाउने नाममा भएको ठगी प्रकरण रहेको बताइएको छ ।
बिर्तामोड घर भई दुबईमा बस्दै आएका प्रकाश सङ्ग्रौला र सुरुङ्गाका निर्मल श्रेष्ठले युरोपेली मुलुक क्रोएसिया पठाइदिने भन्दै विद्यार्थीहरूबाट तीन करोड रुपैयाँभन्दा बढी रकम उठाएको आरोप छ । रकम सङ्कलनपछि सङ्ग्रौला सम्पर्कविहीन भएको र त्यसपछि विवाद चर्किएको बताइएको छ ।
अग्रवालले हिरासतभित्रै कुटपिट भएको जानकारी दिएपछि प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको उपस्थितिमा सीसीटीभी फुटेज जाँच गरिएको थियो । सो क्रममा कुटपिट भएको दृश्य देखिएपछि उनलाई छुट्टै कक्षमा राखिएको जनाइएको छ ।प्रहरी स्रोतका अनुसार घटनामा संलग्नमध्ये एक जनामाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ भने अर्का एक जनालाई निलम्बन गर्ने तयारी गरिएको छ ।
घटना सार्वजनिक भएपछि प्रहरीको चौतर्फी आलोचना भएको थियो । त्यसपछि अग्रवाललाई तत्काल रिहा गरिएको जनाइएको छ । हाल उनी दैनिक तारिखमा रिहा भइसकेका छन् । अग्रवालले हिरासत कक्षमा आफूमाथि कुटपिट भएको घटना सार्वजनिक गरेसँगै अन्य पीडितले समेत प्रहरी कार्यालय भित्र हुने यातनाको विषयमा सार्वजनिक गर्न सुरु गरेका छन् ।