२०८२ चैत्र १२ गते , विहीबार

यूएई, बहराइन र कुवेतद्वारा नयाँ मिसाइल आक्रमणको 'अलर्ट' जारी

sajilo news
एजेन्सी
२०८२ चैत्र ९ गते , सोमबार
यूएई, बहराइन र कुवेतद्वारा नयाँ मिसाइल आक्रमणको 'अलर्ट' जारी

मध्य पूर्वमा जारी युद्धले उग्र रूप लिँदै जाँदा खाडी मुलुकहरूमा सुरक्षा सतर्कता उच्च पारिएको छ। बिबिसीका अनुसार पछिल्लो केही घण्टामा बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतले आफ्नो आकाशमा मिसाइल तथा ड्रोन आक्रमण भएको भन्दै उच्च सतर्कता अपनाउन नागरिकहरूलाई अपिल गरेका छन्।

बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै देशभर खतराको साइरन सक्रिय गरिएको जनाएको छ। मन्त्रालयले सर्वसाधारणलाई नहडबडाउन र शान्त रहन आग्रह गर्दै तत्काल नजिकैको सुरक्षित स्थान वा आश्रयस्थलमा जान निर्देशन दिएको छ। साथै आधिकारिक माध्यमबाट आउने सूचनालाई मात्र विश्वास गर्न समेत आग्रह गरिएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयका अनुसार इरानको तर्फबाट आएका मिसाइल र ड्रोनहरूलाई देशको'एयर डिफेन्स सिस्टम' ले निस्तेज पारिरहेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आकाशमा सुनिएका ठूला आवाजहरू शत्रुका मिसाइल र ड्रोनलाई बीचमै रोक्ने  क्रममा उत्पन्न भएको स्पष्ट पारेको छ।

यता कुवेतको सेनाले पनि आफ्नो प्रतिरक्षा प्रणाली अहिले शत्रुको आक्रमणको सामना गर्न व्यस्त रहेको बताएको छ। कुवेत आर्मीको जनरल स्टाफले दिएको जानकारी अनुसार विभिन्न स्थानमा सुनिएका विस्फोटका आवाजहरू एयर डिफेन्स सिस्टमले ड्रोन र मिसाइलहरूलाई आकाशमै नष्ट गर्दा आएका हुन्। सेनाले आफ्ना नागरिकहरूलाई सुरक्षा अधिकारीहरूले जारी गरेका निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।

अहिले खाडी क्षेत्रमा युद्धको बादल झन् गाढा बन्दै गएको छ भने सबै देशहरूले आ-आफ्नो सुरक्षा व्यवस्थालाई कडा बनाएका छन्।

सम्बन्धित समाचार