२०८२ चैत्र १२ गते , विहीबार

स्थानीय तहलाई दलविहीन बनाउन नेकपाको माग

sajilo news
झापा
२०८२ चैत्र ९ गते , सोमबार
स्थानीय तहलाई दलविहीन बनाउन नेकपाको माग

दमक । नेपाली कम्युनिस्ट पार्टी दमकले स्थानीय तहलाई दलविहीन बनाउन माग गरेको छ । दलीय प्रतिस्पर्धा गरेर स्थानीय तहको जनप्रतिनिधि बन्दा जनप्रतिनिधिबीच विवाद भएको भन्दै दलीय आधारमा प्रतिस्पर्धा गर्न बन्देज लगाउन माग गरेको हो ।
दमक नगरपालिकामा फरक दलका भएकै कारण नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईबीच विवाद हुँदा उपप्रमुखले नगर सभा बहिस्कार गर्ने अवस्था आएको थियो । यस विषयमा पत्रकार सम्मेलन गर्दै यस्तो जनाएको हो । ‘स्थानीय तहमा निर्वाचनको क्रममा उम्मेदवारले चिह्न प्रयोग गर्न मात्र राजनीतिक पार्टीसँग आबद्धता देखाउन सकिने सामान्य व्यवस्था कानुनमा भए पनि विजयी भएपछि कुनै पनि पार्टी कार्यकर्ता वा नेताकै रूपमा प्रस्तुत हुनु वा अल्पमत र बहुमतको आवरणमा जनविरोधी कर्ममा लाग्नु संविधान र अन्य कानुनको मर्म विपरीत हुन जान्छ,’ नेकपाका अध्यक्ष रवि बस्नेत र इन्चार्ज बेदु गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसलाई ठिक ढङ्गले आत्मसात् गर्न नसक्दा आगामी दिनमा स्थानीय तह निर्वाचनमा दलीय प्रतिस्पर्धा बन्देज गर्ने बहस चलिरहेका बेला दमक नगरपालिकामा भने राजनीतिक दलको आधारमा जनप्रतिनिधिहरूको समूह घृणित रूपमा प्रस्तुत हुनु अर्थात् एजेन्डाको आधारमा पक्ष वा विपक्ष हुन नसक्नुले ‘कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्ने भनाइ चरितार्थ हुँदै गएको छ ।’
यस्तै, नेकपा दमकले दमक नगर प्रमुख र उपप्रमुखको पछिल्लो गतिविधिले आफूहरूलाई लज्जित बनाएको बताएको छ ।
आइतबार झापाको दमकमा पत्रकार सम्मेलन आयोजना गरेर नेपाली कम्युनिस्ट पार्टीले यस्तो धारणा सार्वजनिक गरेको हो ।
गत शुक्रबार दमक नगरपालिकाको १८ औँ नगर सभामा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँले पत्रकार भेटघाट आयोजना गरेर नगर सभा बहिस्कार गरेको जानकारी दिएकी थिइन् भने नगर प्रमुख राम कुमार थापाले नगर सभा स्थगन गरी आपत्कालीन नगर कार्यपालिका बैठकको निर्णयका आधारमा नगर कार्यपालिका सदस्यमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गराएर पारित गरेका थिए ।

यसै विषयलाई जोडेर नेकपाले पत्रकार सम्मेलन नै आयोजना गरेर आफ्नो धारणा सार्वजनिक गरेको नगर अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘तत्कालीन समयमा जनताको काम उत्तरदायी ढङ्गले गर्न सक्ने नगर सरकार बनाउनुपर्छ भनेर गठबन्धन गरिएको थियो । हामी पनि तत्कालीन निर्वाचनको मुख्य भागेदार भएकाले यस विषयमा दालको धारणा राखेका हौँ’, उनले भने, ‘जनताको काम गर्नुको साटो एक अर्कोलाई आरोप छ्याप्ने काम भएको छ । आगामी निर्वाचन लक्षित जुन हर्कत गर्नुभएको छ, त्यसले हामीलाई लज्जित बनाएको छ ।’

पत्रकार सम्मेलनमा नेकपाले जारी गरेको प्रेस वक्तव्यमा नगरपालिकाको नेतृत्वमा रहेका जनप्रतिनिधिहरूले जनतालाई डेलिभरी दिन नसकेको भनेर आलोचना गरिएको छ । त्यस्तै पछिल्लो नगर सभामा देखिएको परिदृश्य बारे नेकपाले दुःख व्यक्त गर्दै खेद प्रकट गरेको उल्लेख छ । जारी वक्तव्यमा भनिएको छ, ‘निर्वाचनमा जिताइएका जनप्रतिनिधिको मुख्य ध्यान नगर र जनताको सेवा होइन, फगत अर्को निर्वाचनको तयारी र अझ त्यसका लागि रोइकराइ गर्ने घृणित हर्कततिर हुनु लज्जास्पद छ ।’
 

सम्बन्धित समाचार