एसियन हाइवेको काम ३८ प्रतिशत मात्र, सम्झौता सकिन ७ महिना बाँकी
एसियन हाइवेको काँकडभिट्टा– लौकही सडकको पूर्वी खण्डको सम्झौता सकिन ७ महिना बाँकी रहँदा भौतिक प्रगति मात्र ३८.५ प्रतिशत भएको छ । तीन वर्षे ठेक्का सम्झौता अनुसार दुई वर्ष पाँच महिनाको अवधिमा मात्र त्यति काम भएको हो । वित्तीय प्रगति भने ३३.६ प्रतिशत भएको छ ।
सडक निर्माणको गति सुस्त भइरहँदा पुलको काम अझ कम मात्रामा भएको छ । ठूला पुलहरू कनकाई , बिरिङ र निन्दाको भौतिक प्रगति २६.१ प्रतिशत र वित्तीय प्रगति २२.३ प्रतिशत भएको काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ ।
काँकडभिट्टादेखि केर्खा सितापुरीसम्मको ४५ किलोमिटर सडक एभ्रास्कोन– कालिका जे.भी.ले १० अर्ब ६ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । उनीहरूले २०८० माघ १९ गतेदेखि काम शुरु गरेका थिए ।
पहिलो प्याकेजअन्तर्गत सडकको ठेक्का लगाइएको थियो भने चौथो प्याकेजअन्तर्गत ३०० मिटरभन्दा लामा तीन वटा पुलहरू निन्दा , बिरिङ र कनकाईको ठेक्का लगाइएको थियो । ५ अर्ब ९७ करोड रुपैयाँमा कोभेक–क्रेजसी–टुन्डी जेभीले ती तीन वटा पुलको ठेक्का पाएका हुन् ।
दुवै ठेक्काको सम्झौता मिति २०८० कात्तिक २ गते र निर्माण सम्पन्न गर्नुपर्ने मिति कार्य प्रारम्भ मितिबाट ३ वर्षभित्र रहेको छ ।