२०८२ चैत्र १२ गते , विहीबार

आर्थिक गणनाका लागि झापामा दुई वटा कार्यालय स्थापना

sajilo news
झापा
२०८२ चैत्र ४ गते , बुधबार
आर्थिक गणनाका लागि झापामा दुई वटा कार्यालय स्थापना

दोस्रो राष्ट्रिय आर्थिक गणनाका लागि झापामा दुई वटा गणना कार्यालय स्थापना भएका छन् । अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ का लागि देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना हुने क्रममा झापामा दुई वटा गणना कार्यालय स्थापना भएका हुन् ।

धेरै गैरकृषिजन्य आर्थिक क्रियाकलाप हुने जिल्लाहरूमा एकभन्दा बढी गणना कार्यालय स्थापना भएका हुन् । नेपालभरमा झापा, मोरङ तथा रुपन्देहीमा २–२ वटा र काठमाडौं जिल्लामा ५ वटा आर्थिक गणना कार्यालय स्थापना भएका छन् । देशभर यस्ता ८४ वटा आर्थिक गणना कार्यालय यही चैत्र १ बाट स्थापित भएर २०८३ असार मसान्तमा बन्द हुने छन् ।

आर्थिक गणनासम्बन्धी नेपाल सरकारले जारी गरेको आर्थिक गणनासम्बन्धी मापदण्ड २०८२ अनुसार यी कार्यालयहरूले आर्थिक गणना कार्यालयअन्तर्गत खटिएका गणक, सुपरिवेक्षक तथा अन्य कर्मचारीको सम्पूर्ण व्यवस्थापनको कार्य गर्ने, कार्यक्षेत्रभित्र गणना सामग्रीको वितरण तथा भरिएका फाराम सङ्कलन लगायतका व्यवस्थापकीय कार्य गर्ने , तथ्याङ्क सङ्कलनसँग सम्बन्धित निकाय तथा संस्थासँग समन्वय र सहकार्य गर्ने र प्रचार प्रसार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन् ।

आर्थिक क्रियाकलापसम्बन्धी विवरणहरू सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन तथा वितरणसम्मको प्रयोजनको लागि नेपालको पहिलो राष्ट्रिय आर्थिक गणना २०७५ सालमा सम्पन्न भएको थियो । आगामी गणनाले तथ्याङ्क प्रणाली विकासको लागि राष्ट्रिय रणनीतिको उद्देश्य पूरा हुने, व्यावसायिक रजिस्टर तयार हुने र हरेक दश वर्षमा राष्ट्रिय अर्थतन्त्रमा भएको योगदान मापनको लागि आधार वर्ष परिवर्तन गरी अद्यावधिक तथ्याङ्क प्राप्त गर्ने लगायतका विषयमा सहयोग पुर्‍याउनेछ। यस आर्थिक गणनामा करिब ५ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन हुनेछन् ।

यस गणनामा नेपालको भौगोलिक सिमानाभित्र रहेका आर्थिक क्रियाकलापमा संलग्न हुने प्रतिष्ठान तथा व्यवसायहरूको आर्थिक विवरणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्ने कार्य हुनेछ । साधारण सडक पेटीमा मकै पोलेर बेच्नेदेखि ठुला–ठुला महलका पसल व्यवसाय तथा उद्योग समेत यस गणनामा गणना हुनेछन् ।

मेचीनगर, बिर्तामोड, भद्रपुर नगरपालिका तथा बुद्धशान्ति, हल्दीबारी र कचनकवल गाउँपालिका कार्यक्षेत्र भएको आर्थिक गणना कार्यालय झापा क (भद्रपुर कार्यालय) प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरीमा स्थापना भएको छ । कार्यालय स्थापनाका क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक विष्णुकुमार कार्कीले उपस्थित कर्मचारीलाई सदाचारिता तथा इमानदारिताका साथ दत्तचित्त भई तोकिएको कार्य सम्पन्न गर्न निर्देशन दिँदै प्रतिष्ठानको एउटा कार्यक्षेत्र अनुसन्धान समेत भएको र सोही प्रकृतिको कार्यालय आफ्नो परिसरमा स्थापना गर्न सहजीकरण गरी प्रतिष्ठानको अनुसन्धानात्मक कार्यको महत्त्व प्रस्ट पार्न चाहेको बिचार राखेको कार्यालय प्रमुख उपसचिव चूडामणि लुइँटेलले जानकारी दिए ।

यसैगरी झापाका बाँकी गाउँपालिका तथा नगरपालिका कार्यक्षेत्र भएको आर्थिक गणना कार्यालय झापा ख (दमक कार्यालय) दमक नगरपालिका-५ स्थित मोडल कलेज रोडमा स्थापना भएको छ । यसका साथै आर्थिक गणनाको समन्वय र सहजीकरण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला आर्थिक गणना समन्वय समिति समेत गठन गरिएको छ ।

सम्बन्धित समाचार