चौतर्फी दबाबपश्चात् बिर्तामोडको प्रहरी हिरासतमा रहेकी बालिका आसिदा खातुन रिहा
बिर्तामोड । चौतर्फी दबाबपश्चात इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेकी बिर्तामोड–४ निवासी १४ वर्षीया बालिका आसिदा खातुन रिहा भएकी छन्। गत फागुन २९ गते राति पक्राउ परेकी उनलाई बुधवार राति करिब ८ः३० बजे रिहा गरिएको हो।
राष्ट्रिय मानव अधिकार सञ्जाल झापाका महासचिव दीपक दास र सदस्य विकाश कोइरालाको रोहवरमा रिहा गरिएको सञ्जालका अध्यक्ष डा। रूपक खनालले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बालिकालाई उनकी फुपू बिर्तामोड–३ निवासी ४० वर्षीया संन्जेरी खातुनको जिम्मा लगाइएको छ।
प्रहरीले फागुन २९ गते राति खातुनको घरबाट ६ लाख ३५ हजार ४ सय ६० रुपैयाँ नगद, २ लाख ४६ हजार भारतीय रुपैयाँ तथा करिब तीन तोला सुन र चार तोला चाँदीका गहना बरामद गरेको जनाएको छ। सोही क्रममा बिर्तामोड–४ मियावारीस्थित जगत बस्नेतको घरमा डेरा गरी बस्ने उनकी आमा २८ वर्षीया मसिना खातुन पक्राउ परेकी थिइन्।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा बालिकाका बुवा फरार छन्। तर परिवारले भने प्रहरीले नै उनलाई भगाएको आरोप लगाउँदै आएको छ।
यसैबीच, खातुनको घरमा छापा मार्दा प्रहरीले कुटपिट गरेको आरोप समेत लागेको छ। बालिका आसिदा खातुनलाई हिरासतमा राखिएको विषय टाइम्स अफ प्रदेश अनलाइनले सार्वजनिक गरेपछि प्रहरीको चौतर्फी आलोचना भएको थियो।
हाल आसिदाकी आमा मसिना खातुन भने प्रहरी हिरासतमा नै रहेकी छन् र उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बालिकाका बुवा यसअघि पनि पक्राउ परेका र राष्ट्रपतिबाट आममाफी पाएर छुटेका व्यक्ति रहेको जनाइएको छ। उनीमाथि चोरीमा संलग्न भएको आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढनुहोस्
झापामा प्रहरीको शैली गुण्डागर्दी : १३ वर्षीया बालिका प्रहरी ‘हिरासत’मा, मध्यरातमा घरमै पुगेर कुटपिट