झापाले पायो यी १२ जना सांसद
फागुन २१ गते सम्पन्न निर्वाचनबाट भावी प्रधानमन्त्रीसहित झापाले १२ जना सांसद पाएको छ । प्रत्यक्षतर्फ जिल्लाका पाँच वटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले क्लीन स्वीप गरेको हो भने समानुपातिकतर्फ नेपाली काँग्रेस र रास्वपाका दुई–दुई तथा नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका एक–एक गरी सात जना सांसद झापाले पाएको हो । झापा क्षेत्र नं ५ बाट रास्वपाका बालेन्द्र शाह निर्वाचित भएका छन् । उनलाई प्रधानमन्त्री बनाउने तयारी हुँदैछ । त्यस्तै क्षेत्र नं १ बाट रास्वपाकै निशा डाँगी , २ बाट इन्दिरा राना मगर , ३ बाट प्रकाश पाठक र ४ बाट शम्भुप्रसाद ढकाल निर्वाचित भएका छन् ।
त्यस्तै समानुपातिकतर्फ नेपाली काँग्रेसबाट सुशीला ढकाल र मनमाया विश्वकर्मा , नेकपा एमालेबाट निता घतानी , राप्रपाबाट खुश्बु ओली , श्रम संस्कृति पार्टीबाट अम्बिकादेवी सङ्ग्रौला समानुपातिक सांसद बनेका हुन् । रास्वपाका रमेश प्रसाईँ र टिका सङ्ग्रौला( ज्वाला) ले अन्यत्र ठाउँ देखाए पनि झापाबाटै राजनीति गर्दै आएका छन् ।