यौनजन्य हिंसा गरेको भन्दै बिर्तामोडका उद्योगी मित्तलविरुद्ध प्रहरीमा जाहेरी
झापा बिर्तामोडका उद्योगी प्रदीप मित्तलबिरूद्ध उजुरी परेपछि उनी फरार भएका छन् । एक युवतीलाई बलात्कार गर्ने प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेपछि व्यवसायी मित्तल फरार भएका हुन् । उनीबिरुद्व इलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरी परेको हो । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
व्यवसायी मित्तलको मेचीनगर–१४ स्थित प्रगति टोलमा सात बिगाहा जमिन छ । सोही जमिनमा विगतदेखि नै भेनियर (प्लाई) उद्योग सञ्चालनमा छ । उक्त जमिनमा मित्तलले पाँचतारे होटलसमेत निर्माण सुरु गरेका छन् । सोही भेनियर उद्योगमा काम गर्ने मेचीनगर- १४ की महिलाकी २३ वर्षीया छोरीलाई मङ्लबार मित्तलले घरमै गएर यौनजन्य हिंसा गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । यता प्रहरीले पीडितको युवतीको स्वास्थ्य परीक्षण गराइसकेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार ती युवतीले आफूमाथि मित्तलले गरेको दुर्व्यवहार र पैसा सहितको प्रलोभन देखाएको भिडियो कैद गरेको र त्यसको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।