सलमान खानको ‘ब्याटल अफ गलवान’ फिल्मको नाम अब ‘मातृभूमि’
मुम्बई । बलिउड अभिनेता सलमान खानले आफ्नो चलचित्र ‘ब्याटल अफ गलवान’को नाम परिवर्तन गरेका छन् । यस अघि यो चलचित्रको वर्किङ प्रोजेक्टको रुपमा ‘ब्याटल अफ गलवान’ नाम राखिएको थियो । सोही कारण यसको नाम परिवर्तन गरिएको निर्माताहरूले जनाएका छन् । चलचित्र नयाँ नाम ‘मातृभूमि : वार रेष्ट इन पिस’ राखिएको छ ।
चलचित्र रिलिज हुनुभन्दा लगभग एक महिना अघि नाम परिवर्तनको सूचनाले अहिले सबैलाई चकित पारेको छ । निर्धारित रिलिज मितिमा यो चलचित्र आउँछ की आउँदैन भन्ने जिज्ञासा धेरैको छ । अहिले जारी अमेरिका, इजरायल, इरान युद्धका कारण मध्यपूर्व एसियाका चलचित्र घरहरू बन्द रहेकाले सलमानको यो चलचित्रको रिलिज पनि सर्ने सम्भावना रहेका चलचित्र वितरण पक्षको कथन छ । तर निर्माण पक्षले यस बारेमा खुलाएको छैन ।
चलचित्रका अभिनेता तथा निर्माता सलमान खानले सोमबार आफ्नो चलचित्रको नयाँ नामसहितको पोस्टर सामाजिक सञ्जालमा साझा गरेका छन् । पोस्टरमा सलमान खानलाई सैन्य पोसाकमा देखाइएको छ । उनको तीव्र लुकले क्रोध र जोस झल्काउँछ । उनको आँखा रगतले चम्किरहेको छ । यस्तै उनको पछाडि, युद्धको समयमा पृष्ठभूमिमा सैनिकहरू देखिएका छन्।
यो चलचित्र १७ अप्रिलमा चलचित्र घरहरूमा रिलिज हुने तालिका थियो । सलमान खानले नाम परिवर्तनको सहित साझा गरेको पोस्टरमा रिलिजको मिति राखिएको छैन । ‘मातृभूमि’ अपूर्व लाखियाद्वारा निर्देशित र सलमान खान फिल्म्सको ब्यानरमा निर्मित चलचित्र हो । यसमा सलमान खानसँगै चित्रांगदा सिंह पनि मुख्य भूमिकामा छिन् । नेपालबाट यो चलचित्रमा अनुप विक्रम शाहीले अभिनय गरेका छन् । सन २०२० मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकहरू बीच भएको झडपमा यो चलचित्र आधारित रहेको बताइएको छ ।