रवि लामिछानेले भने- जनताले आफ्नो मत फागुन २१ गते जारी गर्नेमा आफू विश्वस्त छु
राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले जनताले आफ्नो मत फागुन २१ गते जारी गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
चुनावी प्रचारप्रसारको क्रममा मंगलबार बिहान बुद्ध एयरलाइन्सको जहाजबाट झापा आइपुगेका सभापति लामिछानेले भद्रपुरस्थित मेची रंगशाला अगाडिको खुल्ला चौरमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
तपाईँहरूको मनमा के छ । त्यो म आज भन्न सक्दिन । म त्यस्तो नेतामा आफूलाई पार्न चाहिदिन, जो दाबी गरेको गरै गर्छ । ‘जनताले आफ्नो मत फागुन २१ गते नै जारी गर्ने हुन्,’ सभापति लामिछानेले भने, ‘मलाई जनताप्रति त्यही विश्वास छ ।’ मलाई लाग्छ झापा भोट हाल्नको लागि तयार भइसकेको छ । हरेक अनुहारमा त्यो हुटहुटी देख्न पाइयोस् । हरेक अनुहार परिवर्तनको संवाहक बन्न सकोस् । उनले भने, ’अब्बल मानिसलाई संसद्मा लिएर जाँदा देशले कुन किसिमको निकास पाउँछ भनेर तपाईँहरूले देखिसक्नु भएको छ ।’
झापा ३ का उम्मेदवार प्रकाश पाठकको बारेमा बोल्दै लामिछाने भने, ‘म उहाँको जिम्मा लिन सक्छु, तपाईँहरूले उहाँलाई जिताएर पठाए हुन्छ ।’ उहाँलाई इमानदारीपूर्वक काम गराउने जिम्मा हाम्रो हो । ‘उहाँले भनेको वाचा पूरा गरेनन् भने तपाईँहरूको समक्ष यसरी चोकमा ल्याइदिने जिम्मा पनि मेरै हो,’ उनले थपे । त्यस्तै झापा १ का उम्मेदवार निशा डाँगीको बारेमा बोल्दै उनले भने, ‘जेनजीको समस्या देखाउन खोज्दा नदेखिएकोले संसद्मा निशालाई देखाउनु पर्छ ।’ ‘संसदीय अभ्यासमा हजुर बुबाहरूलाई पाठ सिकाउन निशाहरू यस पटक संसद्मा अझ बुलन्द बनाउन चाहिन्छ,’ उनले थपे । भद्रपुरमा छोटो सम्बोधन पश्चात् सभापति लामिछाने मेचीनगर, बिर्तामोड, कनकाई र दमकमा चुनावी सभामा सहभागी भई आजै इटहरीमा हुने सभालाई सम्बोधन गरेका थिए ।