झापाको गौरीगञ्जमा ब्राउन सुगरसहित चारजना पक्राउ
झापाको गौरीगञ्जमा लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । आज दिउँसो साढे १ बजे गौरीगञ्ज गाउँपालिका– २ स्थित बाहुन टोलमा आँपगाछीबाट बाहुन टोलतर्फ आउँदै गरेको मे १ ह ५६६७ नम्बरको अटोलाई गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले चेकजाँच गर्दा अटोको खुट्टा राख्ने म्याटमुनि लुकाई राखेको अवस्थामा प्लास्टिक बाहेक ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
सो लागूऔषधसहित अटो चालक शिवसताक्षी २ मनोहरा घर भई हाल दमक ८ बस्ने वर्ष ३४ का दिलकुमार विश्वकर्मा ,गौरादह ८ भुँडीसिमल बस्ने वर्ष २७ का अमन ताजपुरिया, सुनसरी धरान उपमहानगरपालिका १६ घर भई हाल दमक ८ बस्ने वर्ष १९ की दिपा परियार र मोरङ बेलबारी ९ घर भई हाल दमक ८ बस्ने वर्ष १९ की पार्वती चौधरी पक्राउ परेका छन् । उनीहरूलाई लागू औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।