मेघालयको कोइलाखानीमा विस्फोट, खोटाङका दाजुभाइको मृत्यु, चारजना घाइते
भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका दाजुभाइको मृत्यु भएको छ।
मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका-१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका सहोदर भाइ २४ वर्षीय सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो। उनीहरू बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए।
घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्। मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराउनुभएको हो ।
दुर्घटनाका घाइते चार जनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिए। मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। घाइतेहरूलाई ५० हजारका दरले उपचार खर्च दिने पनि मोदीले बताएका छन्।