२०८३ बैशाख ३ गते , विहीबार

मेचीनगरमा कृषि सङ्ग्रहालय बनाउन भागवत महापुराण

sajilo news
झापा
२०८२ माघ १८ गते , आईतबार
मेचीनगरमा कृषि सङ्ग्रहालय बनाउन भागवत महापुराण

मेचीनगर । निर्माणाधीन अवस्थामा अलपत्र परेको सामुदायिक भवनसहितको कृषि सङ्ग्रहालयलाई पूर्णता दिने उद्देश्यले निन्दा कृषि सहकारी संस्थाले झापाको मेचीनगर १० मा महायज्ञ शुभारम्भ गरेको छ । आर्थिक अभावका कारण निर्माणाधीन अवस्थामा अलपत्र बनेको सामुदायिक भवनसहितको ग्रामीण कृषि सङ्ग्रहालयलाई पूर्णता दिन श्रीमद् भागवत महापुराण धन-धान्याचल सप्ताह धार्मिक ज्ञान महायज्ञको आयोजना गरिएको हो । भवन सरस्वती टोलमा छ । त्यहाँ व्यवस्थापनमा समस्या आएपछि देवी टोलमा महायज्ञको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए । माघ १७ गते शनिबार औपचारिक रुपमा पुराणको प्रारम्भ गरिएको छ । उद्घाटनको दिन कलश यात्रा गरिएको थियो । पुराणस्थलबाट निन्दा नदीसम्म र नदीको पानी लिएर महायज्ञस्थलसम्म पुर्‍याएको थियो । 
सामुदायिक भवनसहित कृषि सङ्ग्रहालय बनाउने उद्देश्यले स्थानीय सरस्वती टोलका अनिल पौडेलले २०७७ सालमा करिब २५ लाख मूल्य पर्ने १ कट्ठा जमिन संस्थालाई प्रदान गरेका थिए । पछि भवन निर्माणका लागि बाटो अभाव हुँदा डेढ कट्ठा जमिन दिएर एकलौटी बाटो निर्माण गरिदिएका थिए ।
सामुदायिक भवन निर्माणसहित ग्रामीण कृषि सङ्ग्रहालय निर्माण गर्न समुदाय नै लागेपनि पूर्ण भने हुन पाएको थिएन । समन्वयकै आधारमा तत्कालीन सांसद राम कार्कीले संघीय सरकारबाट सात लाख उपलब्ध गराएर सहयोग गरेका थिए । त्यसैगरी प्रदेश सरकारका सांसद श्री मैलानीले ५ लाख, मेचीनगर पालिकाले ३ लाख २५ हजार आर्थिक सहयोग गरेपछि भवन निर्माण सुरु गरेका थिए । उक्त रकमबाट निर्माणाधीन अवस्थामै रकम अभाव भएपछि निन्दा कृषि सहकारी संस्था र सदस्यहरूबाट संकलित ४ लाख रकम समेत भवन निर्माणमा लगाइएको थियो । त्यसपछि कोभिड महामारीका कारण निर्माण रोकिएको थियो । त्यसपछि निर्माणाधीन अवस्थामै अलपत्र परेको संरचनालाई पूर्णता दिन महायज्ञको आयोजना गरिएको जग्गा दाता पौडेलले जानकारी दिए ।
कलश यात्रापछि आयोजित कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नम्बर ९ का पूर्वअध्यक्ष गोपाल खड्काले दीप प्रज्जलन गरेको उद्घाटन गरेका थिए । उनले सामुदायिक भवन र कृषि संग्राहलय स्थापना गर्ने महान् उद्देश्य राखेर आयोजना गरिएको महायज्ञलाई सबैले सहयोग गर्न आग्रह गरेका थिए । आफूले पनि सक्ने सहयोग गर्ने प्रमुख अतिथि खड्काले बचन दिएका थिए । माघ १७ गतेदेखि २५ गतेसम्म आयोजना हुने उक्त पुराणबाट भवन निर्माणका लागि १५ लाख बढी आर्थिक सहयोग संकलन हुने अपेक्षा गरिएको आयोजकको भनाई छ ।माघ २५ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथा बाचक पण्डित व्यासाचार्य खगेन्द्रप्रसाद अधिकारी रहनेछन् ।
प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पुराण व्यवस्थापनका लागि निर्माण गरिएको १ सय १ सदस्यीय समिति तथा तीन वटा उपसमिति समेत बनाइएको जानकारी गराइएको थियो । उपसमिति अन्तरगत जग्गा दाता अनिल पौडेलको संयोजकत्वमा आर्थिक समिति बनाइएको छ । त्यस्तै शिवशंकर शाहको संयोजकत्वमा प्रचारप्रसार समिति र विनोद कट्वालको संयोजकत्वमा यज्ञ तथा पण्डाल व्यवस्थापन समिति निर्माण गरिएको बताइएको छ । कार्यक्रमको  सञ्चालक परमात्मा ओझाले गरेका थिए । 

सम्बन्धित समाचार