नयाँ एसपीको हस्तक्षेपले झापा महोत्सव स्थगित, आयोजक समितिद्वारा चर्को विरोध
झापा । भद्रपुरस्थित मेची रंगशालामा आयोजित झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा प्रहरी, प्रशासनले हस्तक्षेप गर्दा आजदेखि महोत्सव बन्द भएको छ ।
झापा उद्योग वाणिज्य संघ भद्रपुर र भद्रपुर नगरपालिकाको संरक्षणमा आयोजित महोत्सवमा प्रहरी, प्रशासनले हस्तक्षेप गर्दा महोत्सव बीचमै बन्द गर्नु परेको संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले जानकारी दिए । संघले शुक्रबार संघमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै अध्यक्ष राईले स्वीकृतिपत्रमा समयको कुनै सीमा नतोकेको जिल्ला प्रशासन कार्यालय झापाले यस महोत्सवलाई केवल मेलाको दृष्टिकोणबाट हेरेर माघ १३ गते यस संघलाई हठात् विविध सर्तसहित बेलुका ७ बजेसम्म सञ्चालन गर्नु भनी पत्र पठायो ।
त्यस विषयमा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालसहित जिल्लाका सबै राजनीतिक दलका जिम्मेवार प्रतिनिधि, उद्योगी व्यवसायीहरूको टोलीले माघ १४ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र लिएर पुगेपछि प्रशासनले न्यूनतम समय बेलुकी १० बजेसम्म तोकियो । ध्यानाकर्षण गराइसकेको अवस्थामा प्रशासनले पुनः दोस्रो पटक बेलुकाको ९ बजेसम्म मात्र महोत्सव सञ्चालन गर्न निर्देशन दिएपछि महोत्सव नराम्ररी प्रभावित भएको कार्यवाहक अध्यक्ष राईले बताए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा भर्खरै सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खडकाले कमान्ड सम्हालेको दिनदेखि नै प्रशासन र प्रहरीको तर्फबाट यो महोत्सवलाई हेर्ने दृष्टिकोण नकारात्मक बनेको बताए । एसपी राजन लिम्बु हुँदा सम्म महोत्सव सञ्चालनमा कुनै समस्या उत्पन्न भएको थिएन । उनको सरुवा भएर नयाँ एसपी खडका आएपछि समस्या उत्पन्न भएको घटना क्रमले देखिएको छ । महोत्सवले गति लिँदै गर्दा, स्टलहरूमा अवलोकनकर्ताको भीड बढ्दै गर्दा, कलाकारहरूको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गर्दागर्दै समयको विषयलाई लिई प्रहरीहरूले साउन्ड सिस्टमको प्लग तानिदिने, पिङमा चढ्दै गरेका सर्वसाधारणलाई झार्ने, आयोजकलाई विभिन्न किसिमका प्रताडना दिनेजस्ता क्रियाकलापका कारण महोत्सवलाई नै सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी प्रशासनकै त्रासका बीच महोत्सव सञ्चालन गर्न चुनौती देखा परेको छ । संघले महोत्सवलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्ने उद्देश्यले प्रहरी प्रशासनको नजिकको स्थल मेची रङ्गशालालाई रोजेको थियो । तर, यहाँ प्रहरीबाटै असुरक्षित भएको महसुस हुन थालेपछि आयोजक महोत्सवको निर्धारित मिति माघ २२ अगावै समापन गर्नुपर्ने अवस्थामा पुगेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशजस्ता जिम्मेवार निकायहरू प्रवर्द्धक रहने गरी कोशी प्रदेश सरकारले आह्वान गरेको कोशी पर्यटन वर्षसमेतलाई जोडेर माघ ७ गते विविध धार्मिक सांस्कृतिक झाँकीसहित भव्य रुपमा उद्घाटन गरिएको यो महोत्सवमा १२० भन्दा बढी औद्योगिक, व्यावसायिक, स्थानीय उत्पादनसहितको कृषि, धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनात्मक स्टल, शिक्षा स्वास्थ्य क्षेत्रका प्रवर्द्धनात्मक स्टलहरू राखिएको थियो । साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुतिहरूसमेत रहेका थिए । यस महोत्सवमा अवलोकनकर्ता एवम् उपभोक्ताहरूको आगमन साँझ ७ बजेपछि मात्रै हुने गरेको र कलाकारहरूले पनि दर्शकको भीड बढेपछि मात्र प्रस्तुति दिने गरेको बाध्यात्मक परिस्थितिलाई प्रशासन प्रहरीले नजरअन्दाज गर्नु दुःखद छ ।
भद्रपुरमा एक दशकपछि झापा उद्योग वाणिज्य संघले आयोजना गरेको यो महोत्सवलाई प्रहरी प्रशासनले निर्वाचन आचारसंहिता को अस्वाभाविक कारण उल्लेख गर्दै देखाएको रवैयाबाट अझै पनि सहज ढङ्गबाट उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बन्न नसकेको स्पष्ट हुन्छ । यसप्रति झापा उद्योग वाणिज्य संघ घोर आपत्ति प्रकट गर्न चाहन्छ । साथै, सम्पूर्ण उद्योगी व्यवसायीहरूको आवश्यकता, मर्म र भावनाविपरीत प्रहरी(प्रशासनबाट भएको यसप्रकारको ज्यादतीविरुद्ध एकताबद्ध हुन पनि आम उद्योग (व्यवसायी, राजनीतिक दल, नागरिक समाज, उपभोक्ता अधिकारकर्मीहरूप्रति आह्वान गर्दछौ । निर्वाचन आचारसंहिता झापामा मात्रै लागू हुन्छ कि अन्य जिल्लामा पनि ? आचारसंहिताले महोत्सव मेलालाई मात्रै छुन्छ कि अन्य गतिविधिलाई पनि छुन्छ ? अहिले देशैभरि नेपाल उद्योग वाणिज्य महासंघको उद्योग वाणिज्य प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत विभिन्न जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूले यसप्रकारको महोत्सव आयोजना गरिरहेको अवस्था छ । काठमाडौँ, धादिङ, सिन्धुली, उदयपुरलगायतका ठाउँहरूमा भर्खरै सुरु भएको छ ।
केही स्थानमा सम्पन्न भइसकेका छन्, केही जारी रहेको अवस्था छ भने केही आयोजनाको तयारी अवस्थामा छन् । यो महोत्सव आयोजनाका लागि विभिन्न पक्षमा एक करोडभन्दा बढी खर्च भइसकेको, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरूसँग आउने मितिसहित सम्झौता भई सम्झौता रकमसमेत बुझाइसकेको अवस्थामा प्रहरी, प्रशासनबाट प्रेषित निर्देशनात्मक पत्रअनुसारको समयावधिभित्र दैनिक रुपमा कार्यक्रम सक्ने अवस्था नरही महोत्सव नै स्थगन गर्नुपर्दा आयोजकले ठुलो घाटा व्यहोर्नुपरेको उनको भनाई छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारीसँग सहमति भइसकेर प्रहरी उपरीक्षक खडकाले दक्खल दिँदा महोत्सव सञ्चालन गर्न नसकिएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले आपत्ति जनाए । महोत्सव चल्न नदिएर प्रहरीले गलत गरेको छ । जिल्लाका सीडीओको निर्देशनमा स्थानीय प्रशासन चल्नु पर्ने हो । 'जिल्लामा सीडीओ भन्दा ठुलो प्रहरी देखिएकोले यसप्रति आपत्ति छ,' उनले भने, 'तत्काल निर्णय सच्चाएर प्रशासनले सर्वपक्षीय भेला डाकेर महोत्सव सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने छ ।'