भारतले दियो प्रतिनिधिसभा निर्वाचनको लागि नेपाललाई सुरक्षा सामग्री
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तर्गत भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारतले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो। अर्थमन्त्री रामेश्वर खनालले भारतको सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
मन्त्री खनालले भारतलाई नेपालको ‘फस्र्ट रेस्पोन्डर’ का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पमा देखाएको तत्परताको स्मरण गरे। उनले उल्लेख गर्नुभयो कि जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएका थिए, र नयाँ सवारी साधनहरूले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिएको छ।
उनले भने, “नेपाललाई संकट पर्दा भारत सधैँ पहिलो सहयोगीका रूपमा उभिएको छ, चाहे त्यो भूकम्पको समयमा होस् वा अहिले निर्वाचनको पूर्वसन्ध्यामा।” आर्थिक दृष्टिले हेर्दा, यी सामग्री सरकार आफैँले खरिद गर्नुपर्ने भए राज्यलाई ठूलो भार पर्ने थियो भने भारतीय सहयोगले त्यस आर्थिक भारलाई न्यूनीकरण गरेको मन्त्री खनालले बताए।
कार्यक्रममा भारतका अधिकारीहरूले जानकारी दिएका अनुसार, नेपाल सरकारलाई २ सय ५० वटा सवारी साधन तत्काल उपलब्ध गराइएको छ। बाँकी ४०० सवारी साधन आगामी साताभित्रै नेपाललाई हस्तान्तरण गरिने जनाइएको छ।
अर्थमन्त्री खनालले नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मात्र नभई भरपर्दो विकास साझेदारको समेत रहेको उल्लेख गर्दै भविष्यमा मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे।