६ महिनामा झन्डै ६ लाख युवा विदेशिए
मुलुक आम निर्वाचनको मुखमा प्रवेश गर्दै राजनीतिक दलहरू चुनावी तयारी र प्रचारप्रसारमा जुटिरहेका बेला युवाहरू भने रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेका छन् । निर्वाचनले देशभित्र रोजगारी, स्थायित्व र भविष्यप्रति आशा जगाउने अपेक्षा गरिए पनि व्यवहारमा भने त्यसको उल्टो देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्लो ६ महिनामै करिब ६ लाख नेपाली श्रम स्वीकृति लिएर विदेशिएका छन्, जसले निर्वाचनको मुखमा पनि युवाको विदेशिने क्रम रोकिएको छैन भन्ने स्पष्ट संकेत गर्छ ।
विभागका अनुसार पछिल्लो ६ महिनामा करिब ६ लाख नेपाली रोजगारीको खोजीमा विदेशिएका हुन् । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म पाँच लाख ९० हजार ७१८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका हुन् ।
विभागका अनुसार यस अवधिमा विदेश गएकामध्ये एक लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । त्यस्तै, चार हजार ८६६ जना जि-टुजी प्रक्रियामार्फत इजरायल, दक्षिण कोरिया तथा बेलायत पुगेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशिनेको संख्या ६४ हजार २६२ रहेको छ भने तीन लाख २५ हजार ४०७ जना म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका छन् ।
हरेक वर्ष चाडपर्व सकिएपछि तथा नयाँ वर्ष सुरु हुँदै निर्माण र सेवा क्षेत्रमा श्रमिकको माग बढ्दा विदेश जाने क्रम तीव्र हुने गरेको देखिन्छ । यसैकारण आगामी महिनामा यो संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । गन्तव्य मुलुकको हिसाबले खाडी मुलुकहरू र मलेसिया परम्परागत रूपमा प्रमुख गन्तव्य नै रहेका छन् । साथै, पछिल्ला वर्षहरूमा जापान, दक्षिण कोरिया तथा केही युरोपेली मुलुकहरू पनि नेपाली श्रमिकका आकर्षक गन्तव्य बन्दै गएका छन् । खाडी र मलेसियामा अदक्ष तथा अर्धदक्ष श्रमिकको माग उच्च रहेको छ भने जापान र कोरियातर्फ भाषा र सीपयुक्त श्रमिकको आकर्षण बढ्दो छ ।