रोकिएको एसियन हाइवेको काम पुनः सुचारु
सुरक्षाको प्रत्याभूति नभएको भन्दै पूर्व–पश्चिम एसियन हाइवे विस्तारको काम रोकेको निर्माण कम्पनीले हिजोदेखि सुचारु गरेको छ । प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने र नियन्त्रणमा लिइएका आफ्ना सवारी साधन छोड्नु पर्ने मागसहित निर्माण कम्पनीले करिब दुई दिन काम रोकेको थियो । सम्झाइबुझाई हिजोबाट काम सुचारु गर्न लगाइएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड)का प्रमुख सुनिलबाबु पन्तले बताए ।
निर्माण कम्पनीले कारणसहित काम रोकेको जानकारी गराएपछि आफूहरूले शान्ति सुरक्षाको व्यवस्था मिलाई निर्माण कार्य सुचारु गराउने वातावरणका लागि समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालयलाई लिखित आग्रह गरेको उनले बताए । माघ १० गते ४ वटा , माघ ९ गते एउटा र पुस २३ गते दुईवटा टिपर स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । नियन्त्रणमा लिइएका ७ वटा टिपरमध्ये पाँचवटा अर्जुनधारा नगरपालिका कार्यालय र दुईवटा सब डिभिजन कार्यालय सुरुङ्गामा राखिएको छ ।
झापामा केही व्यक्तिले अनावश्यक दुःख दिने र हातपात गरेको भन्दै सुरक्षाको कारण देखाएर निर्माण कम्पनीले काम रोकेको जनाएको थियो । सुरक्षाका कारण काम गर्न नसकिएको भन्दै निर्माण कम्पनी एभरसकोन–कालिका जेभीले धम्क्याउने व्यक्तिको नामसहित काँकडभिट्टा–लौकही सडक योजना कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको थियो । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने काँकडभिट्टा–लौकहीसडकअन्तर्गत काँकडभिट्टादेखि केर्खासम्मको पूर्वखण्डको काम अवरुद्ध भएको थियो ।
काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर सडक निर्माणको ठेक्का १० अर्ब ६ करोडमा एभरस्कोन–कालिका जेभीले ठेक्का लिएको हो । ठेक्का सकिन एक वर्ष बाँकी रहँदा हालसम्म करिब ३५ प्रतिशत प्रगति भएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) ले जनाएको छ । तोकिएको म्यादभित्र करिब ७५ प्रतिशतसम्म सक्नेगरी निर्माण कार्य भइरहेको जनाइएको छ ।