दुर्घटनामा परी मृत्यु भएका भद्रपुरकी आमा-छोरीको एउटै चित्तामा अन्त्येष्टि, छोराले दिए दागबत्ती
भद्रपुर । मकर (माघी) स्नान गर्न कनकाई माई मेला जाँदै गरेकी भद्रपुर नगरपालिका–७ बासिलाल चोक निवासी ४० वर्षीया सुस्मा राजवंशी र उनकी १८ महिने छोरी आरुती राजवंशीको सवारी दुर्घटनामा परी मृत्यु भएको १० पछि शनिवार दाहसंस्कार गरिएको छ । भद्रपुर-७ स्थित विश्रान्ति घाट देउनियामा आमा-छोरीलाई एउटै चित्तामा राखेर अन्त्येष्टि गरिएको जनाइएको छ । १४ वर्षीय घाइते छोरा आशिषले आमा र बहिनीलाई दागबत्ती दिएका थिए ।
आपतलाल राजवंशी आफ्नी श्रीमती सुस्मा, छोरी आरुती र छोरा आशिषसहित आफन्तजनलाई लिएर मकर स्नान गर्न कनकाई माई मेला जान भनी घरबाट निस्किएका थिए। उनीहरू चिया पत्ति बोक्ने बोलेरो पिकअप भ्यान लिएर माघ १ गते साढे ८ बजे घरबाट हिँडेका थिए। घरबाट निस्किएको एक घण्टामै उनीहरू सवार पिकअप भ्यान पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका ३ नयाँ बस्ती नजिकै दुर्घटनामा पर्यो।
बिहान साढे ९ बजेको समयमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप भ्यान माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको यात्रुवाहक बससँग ठोकिँदा दुर्घटना भएको थियो। पिकअपमा चालकबाहेक १३ जना सवार थिए। दुर्घटनामा परेका घाइतेहरूलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याइएकोमा बालिका आरुतीलाई डक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो। त्यसको केही समय पश्चात् बालिकाकी आमा सुस्माको पनि उपचारको क्रममा मृत्यु भएको थियो ।
११ जना घाइतेहरूमध्ये आपतलालको अवस्था भने चिन्ताजनक रहेको छ। उनको बीएण्डसी अस्पताल बिर्तामोडको आइसीयुमा उपचार भइरहेको छ । छोरा आशिषको हातमा चोट लागेको थियो । स्वास्थ्यमा केही सुधार आएपछि भाँच्चिएको हातले नै छोराले आमा र बहिनीलाई दागबत्ती दिएको आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठान भद्रपुरका उपाध्यक्ष नन्दलाल राजवंशीले जानकारी दिए । उनका अनुसार अहिले छोरा मामाहरूसँग आफ्नै घरमा काजक्रियामा बसेका छन् । आर्थिक अवस्था कमजोर रहेकोले छोराको पालनपोषणका लागि सबै समक्ष सहयोगका लागि उनले अपिल पनि गरेका छन् ।
यो पनि पढनुहोस् :
दुर्घटनामा श्रीमती र छोरी गुमाएका आफुद आइसियुमा जीवनसँग लड्दै, त्यही राति हात्तीले भत्काइदियो घर