‘हेट स्पिच’ र ‘फेक कन्टेन्ट’मा निर्वाचन आयोगको ‘एक्सन’
काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसार क्रममा सामाजिक सञ्जालमा गलत तथ्यमा आधारित प्रचार सामग्री पोस्ट गर्नेलाई धमाधम कारबाही प्रक्रिया थालेको छ । हानिकारक सूचनाअन्तर्गत गलत, भ्रामक तथा हानिकारक सूचना र गाली गलौजयुक्त अभिव्यक्ति (हेटस्पिच) नियन्त्रण र नियमन नियामक निकायसँग समन्वय र कारबाही सुरु गरिएको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार आयोगद्वारा स्थापित सूचना सदाचार प्रवर्धन इकाइमार्फत त्यस्ता सामग्री सामाजिक सञ्जालबाट पत्ता लगाउन युएनडीपीको सहयोगमा ‘इमनिटर प्लस’ प्रणाली प्रयोगमा ल्याइएको छ । अन्तर्राष्ट्रियस्तरको प्रणाली प्रयोगमार्फत एक सातामा ९८ हानिकारक सूचना उत्पादन गरी सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई कारबाही सुरु गरिएको हो ।
आयोगले प्रेस काउन्सिल, नेपाल प्रहरीको साइबर ब्युरो र आयोग केन्द्रीय आचारसंहिता अनुगमन समितिमा समन्वयबाट काम गरिरहेको जनाएको छ । शुक्रबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले दिएको जानकारीअनुसार निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी आउनेक्रम बढेको छ । प्राप्त उजुरीका आधारमा आयोगले तत्कालै ‘एक्सन’ लिएको भट्टराईले बताए ।
यसैबीच, आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको डेढ करोड मतपत्र छपाई सकेको छ । गत २ माघदेखि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाई सुरु भएकोमा डेढ करोड मतपत्र छपाई सकिएको र ५० लाख छाप्न बाँकी रहेको जनाइएको छ । समानुपातिकतर्फबाट मतपत्र छपाई सकिएपछि पहिलो हुने निर्वाचित हुनेतर्फको छपाई सुरु गरिने प्रवक्ता भट्टराईले बताए ।
जनक शिक्षा सामग्री केन्द्रका ४ वटा मेसिनबाट २४सै घण्टा छपाई भइरहेको आयोगले जनाएको छ । शुक्रबारसम्ममा समानुपातिकतर्फको सकेर १२ देखि प्रत्यक्षतर्फको छपाई तयारी भएकोमा केही ढिलाइ भए पनि फागुन पहिलो साता नै जिल्ला जिल्लामा मतपत्र पु¥याउने तयारी भएको आयोगले जनाएको छ ।
थपिएका मतदातालाई परिचयपत्र
निर्वाचन आयोगले २०७९ को निर्वाचनपछि थपिएका मतदाताका लागि परिचयपत्र पनि छापिरहेको आयोगले जनाएको छ । ९ लाख १५ हजार ११९ नयाँ मतदातालाई मतदान केन्द्रमा परिचयपत्र वितरण गर्नेगरी काम गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनका लागि निर्धारित २३ हजार ११२ मतदान केन्द्रका लागि मतदाता नामावली तयार हुँदै गरेको आयोगले जनाएको छ । ९२ हजार ४ सय ४८ सेट मतदाता नामावली छापेर जिल्ला निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय र सम्बन्धित मतदान केन्द्रमा पठाइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यो खबर राजधानी दैनिकमा छ ।