झापामा करिब ३ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
झापा । झापामा १४ औं चरणको हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान सुरु भएको छ। जिल्लाका १५ पालिकामध्ये ६ पालिकाहरू (कनकाई, अर्जुनधारा, झापा, बाह्रदशी, हल्दिबारी र कचनकवल)मा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु भएको हो। १३ औं चरणको औषधि सेवनपश्चात् जिल्लामा हात्तीपाइले रोग विरूद्धको सर्वेक्षण गरिएको थियो।
कचनकवल गाउँपालिकामा ३०२ र झापा गाउँपालिकामा ३०८ जनामा गरिएको एफटिएस टेस्टको नतिजा अनुसार कचनकवलमा ४४ र झापामा २० मा आरटीडी पोजेटिभ देखिएको थियो। एमएफ पोजेटिभ एक प्रतिशतभन्दा माथि देखिएकोले त्यहाँ हात्तीपाइले रोग देखियो। मूल्यांकन एकाईमा पोजेटिभ देखिएकोले यस पटक ६ पालिकाका २ लाख ८२ हजारलाई औषधि सेवन गराउने अभियानको शुभारम्भ भइसकेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए।
बिहीबार जिल्ला समन्वय समिति झापा भद्रपुरको सभा हलमा आयोजित हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै जनस्वास्थ्य निरीक्षक श्रेष्ठले भने, हात्तीपाइले नामको परजीवीहरूको सङ्क्रमणबाट लाग्ने रोग हो। नेपालको लागि क्युलेक्स नामको लामखुट्टे (बाहक)को कारण यो रोगको परजीवी सार्दछ। यो रोगमा धेरे संक्रमण लक्षण बिनाको हुन्छ। पछि गएर अङ्ग सुन्निने गर्छ। केहीमा अण्डकोष, केहीमा खुट्टा, केहीमा हात, केहीमा स्तन र केहीमा अन्य अङ्गहरू सुन्निने गर्छ।
त्यसैले अब जिल्लाका ६ पालिकामा अन्तिम पटक यो औषधि सेवन अभियानको थालिन गरेको उनले बताए। सन् २००० सम्म १२ करोड मानिसहरू संक्रमित तथा ४ करोड मानिसहरू अङ्गभङ्ग रहेको पाइएको। सन् २०२४ सम्म, संक्रमणको दर ७४ प्रतिशतले घटेर ५.१ करोड मानिसहरू अझै पनि यो रोगबाट संक्रमित छन्। विश्वव्यापीकरण अनुमानित २.५ करोड परुषहरू हाइड़रोसील र १.५ करोड भन्दा बढी व्यक्तिहरू लिम्फोएडेमावाट प्रभावित रहेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रवीन्द्र खनियाले बताए।
उनका अनुसार विश्वभर यस कार्यक्रम सञ्चालन भएका ७१ वटा देशहरू मध्ये १२ देशहरूमा समुदायस्तरको संक्रमण रोकिसकेको छ भने २१ देशले निवारण गरिसकेका छन। सन २००० देखी २०२३ सम्म कार्यक्रम सञ्चालन भएका ७१ वटा देशहरूमा अहिले सम्म ९ अर्ब ७० करोड डोज औषधि सेवन भइसकेको छ। नेपालको ६४ वटा इन्डेमिक जिल्लाहरूमध्ये ५७ वटा समुदाय स्तरको संक्रमण रोकिएकोले यो औषधि सेवन अभियान बन्द भइसकेको छ र ५ वटा जिल्लाहरू दोस्रो चरणको संक्रमण मूल्याङ्कनको रहेका छन्।
इन्डेमिक जिल्लाहरूमध्ये झापा, सर्लाही, रौतहट र बाँके जिल्लाहरूको ३३ वटा पालिकाहरूमा यो अभियान माघ ७ गतेबाट सुरु भइसकेको उनले बताए। सन २०२५ सम्म नेपालको ५७ जिल्लाहरूमा ४७ हजार ८८६ हात्तीपाइलेका बिरामीहरू पहिचान गरिएका छन्, जसमा ३२ हजार ६५९ केसहरू हाइड्रोशीलका, १४ हजार ७७६ केसहरू लिम्फोएडेमाका र ४३१ केसहरू हाइड्रोशील र लिम्फोएडेमा दुवै भएको उनको भनाई छ। नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग पूर्ण रूपमा उन्मूलन गर्ने लक्ष्य लिएको छ।