२०८३ बैशाख ३ गते , विहीबार

बुधबारदेखि मेची रंगशालामा झापा औद्योगिक तथा पर्यटन महोत्सव

sajilo news
झापा
२०८२ माघ ६ गते , मंगलबार
बुधबारदेखि मेची रंगशालामा झापा औद्योगिक तथा पर्यटन महोत्सव

भद्रपुर । झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ को तयारी पूरा भएको छ । झापा उद्योग वाणिज्य संघको आयोजनामा भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा माघ ७ गतेदेखि २१ गतेसम्म आयोजना हुन लागेको महोत्सवको तयारी पूरा भएको हो । मंगलबार महोत्सव आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

‘यहाँको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गर्न लागिएको हो’ उनले ‘झापाको उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपक्षी र पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउनुका साथै आन्तरिक बजार सबलीकरण, व्यावसायिक उत्थान तथा निकासीयोग्य वस्तुमा जोड दिने मध्यकालीन लक्ष्यसहित महोत्सव आयोजना गरेका हौँ ।’

पत्रकार सम्मेलनमा कोशी प्रदेश सभा सदस्य छविलाल चुडालले राष्ट्रिय अर्थतन्त्रलाई मजबुद बनाउन यस प्रकारका महोत्सव महत्त्वपूर्ण हुने धारणा राखे । उनले कोशी प्रदेश सरकारले समेत यस्ता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर सहयोग गर्दै आएको बताए।

त्यस्तै, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले भद्रपुरमा पछिल्लो समय आर्थिक क्रियाकलाप घट्दो क्रममा रहेकाले त्यसलाई उकास्न महोत्सव सहायकसिद्ध हुने बताइन् । ‘मैले अनुगमनका क्रममा यहाँका उद्योग–व्यवसायीको अवस्था र उनीहरूको भावना बुझेको छु’, उनले भनिन् ‘उहाँहरूलाई प्रोत्साहन गर्न पनि भद्रपुर नगरपालिकाले महोत्सवमा संरक्षणको भूमिका निर्वाह गरेको छ ।’

यस्तै, भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज) ले भद्रपुरलाई चलायमान बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। ‘सबैले मिलेर नगरको विकास गर्नुपर्छ’ उनले भने ‘राजनीति भन्दा पनि उठेर सबै मिलेर विकास लागौँ ।’

खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) उद्योग–व्यवसायसँगै यहाँको खेलकुदलाई समेत उकास्न महोत्सव आयोजना गर्न लागिएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए । महोत्सव अवधिमै विभिन्न खेलकुदका कार्यक्रम समेत गरिने उनले बताए ।

‘समृद्धिको आधार, आर्थिक विकास, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवमा लागि एक सय ३० वटा स्टल निर्माण गरिएको छ भने तीमध्ये एक सय २५ वटा स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ ।

ती स्टलमा हस्तकलाका सामग्रीसहित स्थानीय कृषि उत्पादनदेखि विभिन्न कम्पनीका अटोमोबाइल्स समेत प्रदर्शनीमा राखिने छ । महोत्सवमा कम्तीमा १० करोड रुपैयाँ बराबरको कारोबार तथा एक लाख बढी अवलोकनकर्ताको सहभागिता हुने आयोजकको अपेक्षा छ ।

महोत्सवमा स्थानीय कृषि उत्पादनहरूलाई विशेष महत्त्व राखी कृषि उत्पादन, बीउबीजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडीबुटी तथा औषधि, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा छालाका सामानहरू, गार्मेन्ट तथा जुत्ता चप्पल, गलैँचा तथा पस्मिना, सौर्य ऊर्जा तथा जल विद्युत्, मोबाइल तथा सूचना प्रविधि, घरजग्गा तथा निर्माण सामग्री, बैङ्क तथा वित्तीय संस्था, फर्निचर तथा फनिसिङ, दैनिक उपभोग्य सामानलगायतका वस्तु प्रदर्शनी तथा कारोबारका लागि राखिने आयोजकले जनाएको छ ।

महोत्सवलाई आकर्षक बनाउन सेल्फीजोन, मनोरञ्जनात्मक खेल तमासा, स्थानीय, राष्ट्रियस्तरको साङ्गीतिक र हास्यव्यङ्ग्य प्रस्तुति, स्थानीय गीत तथा नृत्य र सांस्कृतिक कार्यक्रम, वाल उद्यान, विभिन्न जातजातिको सांस्कृतिक, परम्परागत प्रदर्शनी तथा झाँकी प्रदर्शन मनोरञ्जनात्मक आकर्षण हुने जनाइएको छ ।

महोत्सव सम्पन्न गर्न विभिन्न नौ वटा उपसमिति गठन गरिएको छ । आदित्य पराजुली संयोजक रहने गरी आर्थिक संकलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बू संयोजक रहने गरी मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचार प्रसार समिति, रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति, अम्बिका पोखरेलको संयोजकत्वमा सुरक्षा तथा स्वयम् सेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।

सम्बन्धित समाचार