हल्दीबारी गाउँपालिका असल अभ्यास मूल्याङ्कनमा जिल्ला प्रथम
हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिका असल अभ्यास मूल्याङ्कनमा जिल्ला प्रथम भएको छ । जिल्ला समन्वय समिति झापाद्वारा गरिएको असल अभ्यास मूल्याङ्कनमा जिल्लाका १५ वटा पालिकामध्ये हल्दीबारी प्रथम हुन सफल भएको हो ।
समन्वय समिति झापाले सेवा प्रवाह, कार्यसम्पादन मूल्याङ्कन तथा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा सीमित स्रोतसाधनका बाबजुद पनि विकास निर्माण, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रभावकारी कार्य गरेको भन्दै हल्दीबारी गाउँपालिकालाई उत्कृष्ट घोषित गरिएको हो।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले जनप्रतिनिधि र कर्मचारीबीचको इमानदारी, समन्वय र प्रतिबद्धताका कारण हल्दीबारी गाउँपालिका असल अभ्यासको नमुना बन्न सफल भएको बताए। सीमित स्रोतसाधन हुँदाहुँदै पनि हासिल गरिएको उपलब्धि प्रशंसनीय रहेको उनको भनाइ थियो।
गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले प्राप्त सम्मानले खुसीसँगै थप जिम्मेवारी र चुनौती पनि बढाएको उल्लेख गरे। उनले यस उपलब्धिलाई निरन्तरता दिँदै अझ प्रभावकारी सेवा प्रवाहमा लागिरहने प्रतिबद्धता व्यक्त गरे।
उक्त अवसरमा जिल्ला समन्वय अधिकारी अमृतबहादुर राईले गाउँपालिकाले गरेका कामको प्रशंसा गर्दै कर्मचारीहरूले इमानदारीपूर्वक कार्य गर्नुपर्ने र जनप्रतिनिधिले कामको उचित मूल्याङ्कन गर्नुपर्ने बताए। आपसी सहकार्य र समन्वय भए थोरै स्रोतबाट पनि धेरै उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो । साथै केही दिनभित्र गाउँपालिकालाई औपचारिक रूपमा सम्मान गरिने उनको भनाई छ ।