कानेपोखरीको ‘अक्पाल प्लान्ट’ हटाउन स्थानीयको माग
मोरङ । यहाँको कानेपोखरी गाउँपालिका–५ मा सञ्चालित अक्पाल प्लान्टबाट फैलिएको प्रदूषणका कारण गाउँबस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले प्लान्ट तत्काल स्थानान्तरण गर्न माग गरेका छन् ।
बस्ती, खोला र विद्यालय नजिकै अक्पाल प्लान्ट (अलकत्रा पोल्ने मेसिन) राखेपछि समुदाय प्रभावित भएका छन् ।स्थानीय वृद्धवृद्धाहरु अक्पाल प्लान्ट सञ्चालन हुँदा गाँउ छाडेर आफन्तको तिर जान बाध्य भएको सचेत नागरिक समूहका अगुवा आनन्द राईले बताए ।
उक्त प्लान्टले मानव स्वास्थ्य, पशुपन्छी तथा पर्यावरणमा गम्भीर असर पुर्याएको उनीहरुको गुनासो छ । प्लान्टबाट निस्कने धुवाँ, धुलो र अन्य प्रदूषणतत्वका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको र पशुपन्छी समेत प्रभावित भइरहेको सो समूहका सचिव नवीन राईले बताए ।
सम्बन्धित स्थानीय तहसँग अनुमति नलिएको कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले बताए । उनले भने, “स्थानीयवासी तीन/चार पटक ‘डेलिगेसन’ लिएर आउनुभयो, समस्या देखिएको छ । अब यो विषयमा आगामी कार्यपालिकामा छलफल गरिनेछ ।”
सो प्लान्ट पहिले देखिनै सञ्चालनमा रहेकाले गाउँपालिकाले सिधै बन्द गराउन नमिल्ने यादवको भनाइ छ । सचेत नागरिक समूहका अगुवा आनन्द राईका अनुसार विएण्डवि कन्स्ट्रक्सनले २०७८ सालमा उक्त क्षेत्रमा अक्पाल प्लान्ट स्थापना गरेको हो ।
बस्तीबाट करिब ५० मिटरको दूरीमा रहेको यस प्लान्टले निरन्तर प्रदूषण फैलाउँदा वातावरणमै असर परेकाले स्थानीयवासीले हटाउन माग गरेका हुन् । सम्बन्धित निकायले समस्या गम्भीरतापूर्वक नलिएमा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।