२०८३ बैशाख २३ गते , बुधबार

‘लाल–भागिरथा उत्कृष्ट प्रतिभा’ पुरस्कारबाट वरिष्ठ पत्रकार नकुल काजी सम्मानित

sajilo news
झापा
२०८२ मंसीर २० गते , शनिबार
‘लाल–भागिरथा उत्कृष्ट प्रतिभा’ पुरस्कारबाट वरिष्ठ पत्रकार नकुल काजी सम्मानित

यसवर्षको ‘लाल–भागिरथा उत्कृष्ट प्रतिभा’ पुरस्कार वरिष्ठ पत्रकार नकुल काजी पाण्डे (व्यंग्यनारान पाँडे) लाई प्रदान गरिएको छ । झापाको मेचीनगर –११ धाइजनस्थित लाल–भागिरथा बानियाँ प्रतिष्ठानले जालपा सामुदायिक भवनमा सातौँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ पत्रकार काजीसहित विभिन्न विधाका व्यक्तित्वहरूलाई शनिवार सम्मान तथा पुरस्कृत गरेको हो ।

झापामा रहेर नेपाली पत्रकारिता र साहित्य लेखनको माध्यमबाट देशको नाम उच्च बनाएको भन्दै उनलाई उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानका अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतले पुरस्कृत तथा सम्मानित व्यक्तित्व काजीलाई सम्मानपत्र तथा दोसल्ला पहिर्‍याएका थिए भने विशिष्ट अतिथि बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले माला र खादा तथा आयोजक प्रतिष्ठानका अध्यक्ष हरिशरण बानियाँले नगद ३१ हजार रुपैयाँको थैलो हस्तान्तरण गरेका थिए । दुई दर्जन बढी कृति प्रकाशित र विवेचना, झापा एक्सप्रेस, इर्स्टन इको, वरुणलगायतका पत्रपत्रिकाको सम्पादन गरेका वरिष्ठ पत्रकार काजी भद्रपुर–८ का स्थायी बासिन्दा हुन् ।

प्रतिष्ठानले सातौँ वार्षिकोत्सवका अवसरमा मेचीनगर–९ मा अर्ग्यानिक कृषि खेती गर्दै आएको उज्यालो भविष्य जैविक कृषक समूहलाई ‘लालबहादुर उत्कृष्ट कृषि पुरस्कार’ ,मेचीनगर–७ स्थित मदनवस्ती निवासी मालती राजवंशीलाई ‘भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार’ प्रदान गरेको छ । पुरस्कारको राशि जनही ३१ हजार रुपैयाँ रहेको छ । ७० वर्षीया उत्कृष्ट गृहिणी राजवंशीले १२२ वर्षीया सासुआमा पुहानी राजवंशीको हेरचाह गर्दै आएकी छन् ।

यसैगरी प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने मातापिता सम्मानबाट मेचीनगर–११ निवासी ज्येष्ठ दम्पती सम्मानित भएका छन् । जसमा ९० वर्षीय हेमलाल र ८१ वर्षीया तुलसा खतिवडा छन् । उनीहरूलाई आफ्‌ना माता पिता सरह स्मरण गर्दै नगद र दोसल्लासहित सम्मान गरिएको हो । प्रतिष्ठानले ओजना गरेको ‘ज्येष्ठ नागरिकको अभिभावकत्व, युवा समुदायको संरक्षण गर्ने दायित्व’विषयक वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा धुलाबारी माविकी जयन्ती बुढाथोकी प्रथम, मेचीनगर–१२ स्थित सरस्वती बाल कल्याण माविका डिमेश्वरी भट्टराई दोस्रो, मेचीनगर–१४ स्थित बाल सुवोधिनी माविकी अनुजा रायमाझी तेस्रो र मेचीनगर–९ स्थित कवि शिरोमणि माविका साजन मगर सान्त्वना भएका थिए ।
उनीहरूलाई क्रमशः नगद तीन हजार, दुई हजार, नगद एक हजार पाँच सय र नगद पाँच सयसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार