झापामा आगलागीका घटना बढ्यो
सुक्खायाम शुरु भएसँगै झापामा आगलागीका घटना बढ्न थालेको छ । हिजो एकै दिन जिल्लाको चार ठाउँमा आगलागी भएको प्रहरीले जनाएको छ ।
गएराति १२.१५ बजे गौरादह–५चान्दुटोल बस्ने कुलबहादुर थापाको काठले बनेको टिनको छानो भएको गाईगोठमा आगलागी भएको छ । नजिकै रहेको फोहोर जलाउने क्रममा अचानक आगलागी हुँदा गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै गोठभित्र रहेका गाईको एउटा बाछो , एउटा खसी, एउटा बाख्रा र दुईवटा कुखुरा जलेर मरेका छन् ।सो आगलागीबाट एउटा गाई र एउटा बाछो जलेर घाइते भएका छन् । सोही गोठमा राखिएको मकै अन्दाजी ५०मन, गाईलाई खुवाउने भुस ५बोरा र काठपातसमेत जल्दा अन्दाजी ८ लाख बराबरको धनमाल नष्ट भएको छ । उक्त आगो गौरादह र कमलको दमकलको सहयोगमा बिहान ३ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
त्यस्तै हिजो बिहान ६ः४५ बजे अर्जुनधारा वडा नं.८ हात्तीकिल्ला बस्ने राजन चौलागाईको डेढतले पक्की घरको छतमा ट्रस्ट लगाएको पूजा कोठामा बालेको दियोबाट अचानक सल्किएर आगलागी भएको छ । आगलागीबाट पूजा कोठा आंशिक जलेको छ भने कोठाभित्र रहेको धान मन, ३२ इन्चको एलइडी टिभी एक थान , पलङ एक थान, सिरक एक थान र डस्न दुई थान गरी अन्दाजी एक लाख बराबरको क्षति भएको छ ।
त्यस्तै बिर्तामोड वडा न.२ चैतुवारीस्थित दुर्गा स्टिल प्रा.ली. उद्योगका कामदारहरू बस्ने घरमा आगलागी भएको छ । हिजो साँझ ६;४० बजे सो उद्योगका कामदारहरू बस्ने २ तले पक्की घरको भुइँतलाको भान्सा कोठाबाट ग्यास लिक भई अचानक आगलागी भएको हो ।आगलागीबाट भान्सा कोठा र भान्सा कोठासँगै टाँसिएको सुत्ने कोठा, कामदारहरूको नगद रु.१ लाख ५० हजार, लत्ताकपडा, मोबाइल–३ थान पूर्णरुपमा जल्दा छ लाख बराबरको क्षति भएको छ । उक्त आगो स्थानीय मानिसहरूको सहयोगमा साँझ ७;२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
त्यस्तै हिजो दिउँसो अन्दाजी १ः३० बजे गौरादह –३ बस्ने हरि पाण्डेको धान खेतमा धान काटेर फिजाईराखेको पाँजामा अचानक आगलागी भएको छ । आगलागीबाट अन्दाजी १० कट्ठा बराबरको धान जलेर नष्ट हुँदा अन्दाजी ३० हजार बराबरको क्षति भएको छ ।
त्यस्तै आज बिहान ८ः३० बजे बिर्तामोडको सिटी सेन्टरमा आगलागी भएको छ । सिटी सेन्टरमा अर्जुनधारा ६ बस्ने सुनिल क्षेत्रीले सञ्चालन गरेको अनुकूल इलेक्ट्रोनिक्स पसलमा सिसी क्यामेराको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट अन्दाजी एक लाख बराबरको इलेक्ट्रोनिक्स सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै आज दमक ७ सयपत्री टोलमा रहेको कैयुब मन्सुरीको सिरक डसना उत्पादन गर्ने गोदाममा आगलागी भएको छ । आगलागीबाट गोदाममा रहेको सम्पूर्ण सामान र डसना बनाउने मेसिन जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षति भएको सञ्चालकको भनाई छ । बिजुली सर्ट भएर गोदाममा आगलागी भएको आशङ्का गरिएको छ । दमक नगरपालिकाको दमकल प्रयोग गरी इलाका प्रहरी कार्यालय दमकका प्रहरी र नगर प्रहरीको संयुक्त टोली मिलेर आगो नियन्त्रणमा लिएका थिए ।
केही दिनदेखि आगलागीका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनले आगलागीबाट सावधान रहन सबैलाई आग्रह गरेका छन् ।