२०८२ मंसीर ११ गते , विहीबार
कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई गत असोज २६ गते पक्राउ गरेको थियो। ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुद्दामा अनुसन्धान गर्न सिआईबीले उनलाई पक्राउ गरेको थियो।
सुन तस्करी प्रकरणमा महरा २०८० साल चैत ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतामा छोडेको थियो।