२०८२ मंसीर ११ गते , विहीबार

‘विद्यार्थी भिसा’मा नेपाल छिरेर अवैध गतिविधि

sajilo news
पत्रपत्रिका
२०८२ मंसीर ११ गते , विहीबार
‘विद्यार्थी भिसा’मा नेपाल छिरेर अवैध गतिविधि

काठमाडौं । विद्यार्थी भिसामा नेपाल भित्रिएका विदेशीले धर्म प्रचारदेखि अवैध गतिविधि र शंकास्पद सूचना पहुँचमा सक्रिय भएको पाइएपछि अध्यागमन विभागले अनुगमन र कारबाही तीव्र बनाएको छ ।

शैक्षिक संस्था र कन्सल्टेन्सीहरूले व्यापारका लागि विदेशीलाई विद्यार्थी भिसा प्रयोजनका लागि भर्ना कागजात बनाइदिने गरेपछि नेपाल अनधिकृत र गैरकानुनी क्रियाकलापको हब बन्ने जोखिम बढेको भन्दै अध्यागमन विभागले अनुगमन र कारबाही बढाएको हो ।

पर्यटक भिसादेखि, बिजनेस भिसा र विद्यार्थी भिसामा आएका विदेशीहरू नेपालमा होटल तथा आवास व्यवसाय सञ्चालन गरेर गैरकानुनी गतिविधि गरिरहेको समेत विभागको अनुगमनमा भेटिएको हो ।

नेपाल आएका विदेशीले भिसाको उद्देश्यविपरीतका गतिविधिमा संलग्न भएको भेटिने गरेपछि विभागले सतर्कता बढाएर ७७ जिल्लामै अनुगमन तीव्र बनाउने भएको छ । पछिल्ला समयमा अध्ययन भिसामा नेपाल आएका विभिन्न देशका नागरिकले भिसा थप गर्ने बेलामा अध्ययन गरेको प्रमाणपत्र बुझाउन नसक्ने तथा शैक्षिक संस्थामा अध्ययनरत रहेको प्रमाण दिन नसकेपछि विद्यार्थी भिसामा विदेशीलाई कडाइ गर्ने संकेत अध्यागमन विभागले गरेको छ ।

पर्यटक भिसामा आएर नेपालका आईटी कम्पनी तथा चार्टर्ड एकाउन्टेन्ट कम्पनीमा काम गरिरहेको पाइएपछि अनधिकृत डाटा पहुँचको खतरासमेत बढेको पाइएको छ । कतिपय विदेशी नागरिकले पर्यटक तथा विद्यार्थी भिसामा आएर अनधिकृत गतिविधिमा संलग्न भएको भिसा थप गर्ने बेलामा भेटिने गरेको हो । विद्यार्थी भिसामा नेपाल आएका विदेशी नागरिकले भिसाको अवधि थप्न नक्कली कागजात पेस गर्ने तथा कतिपय विदेशी विद्यार्थी गैरकानुनी तथा बर्जित क्रियाकलापमा समेत संलग्न भएको पाइएपछि अध्यागमन विभागले भिसा जारी तथा थप भिसामा कडाइ गर्न थालेको विभागका प्रवक्ता टीकाराम ढकालले बताए ।

विभागको अनुगमनले कतिपय शैक्षिक संस्थाका नाममा अध्ययन प्रयोजनका लागि भिसा लिएका विद्यार्थीहरू सम्बन्धित शैक्षिक संस्थाको सम्पर्कमा नरहेको तथा कन्सल्टेन्सीहरूमार्फत प्रक्रिया गरेर आई पढाइबाहेकका क्रियाकलापमा संलग्न भएको पाइएको हो ।

नेपालका विश्वविद्यालय, क्याम्पस तथा जस्तासुकै शैक्षिक संस्थाले पनि औपचारिक वा अनौपचारिक शिक्षाका लागि विदेशी विद्यार्थीलाई अध्ययन अनुमति दिनसक्ने व्यवस्था भएकाले के कति शैक्षिक संस्थाका कागजात प्रयोग भएर विद्यार्थी भिसा जारी भएको भन्ने अभिलेख अद्यावधिक नभएको विभागका प्रवक्ता ढकाल बताउँछन् ।

यथार्थ तथ्यांक नभए पनि हजारभन्दा बढी विदेशी नागरिक विद्यार्थी भिसामा नेपालमा छन् । तर, उनीहरू शैक्षिक संस्थामा विद्यार्थीकै रूपमा अध्ययन गरिरहेको संख्या भने यस्तो नभएको विभागको अनुमान छ । विभागले विदेशीलाई दिइएको भिसाको ट्र्याकिङ सिस्टम बनाइरहेको बताउँदै विभागका प्रवक्ता ढकालले देशैभर विदेशी विद्यार्थीको अवस्थाको अनुगमन भइरहेको बताएका छन् ।

शैक्षिक संस्था पनि अनुगमनको दायरामा
विदेशी विद्यार्थीलाई पढाउने नाममा भर्ना गरेर विदेशी नागरिकलाई भित्र्याउने प्रक्रिया सुरु गर्ने शैक्षिक संस्था तथा प्रक्रिया गर्ने कन्सल्टेन्सीहरूमा समेत अनुगमन गरिने प्रवक्ता ढकालले बताएका छन् । विदेशी नागरिकका गतिविधि के कस्ता भइरहेका छन् भनेर जिल्लाजिल्लामा अनुगमन गर्न ७७ जिल्लाका जिल्ला अनुगमन समितिलाई समेत अनुरोध गरिएको प्रवक्ता ढकालले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार