भद्रपुरमा लैगिंक हिंसाविरुद्ध १६ दिने अभियान शुरु
झापाको भद्रपुरमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भद्रपुरमा पनि शुरु भएको हो । अभियान उद्घाटनको अवसरमा यहाँस्थित मेची पुलबाट र्याली निकालिएको छ । विभिन्न नारा लेखिएको ब्यानरसहित मेची पुलबाट शुरु भएको र्याली भद्रपुर बजार हुँदै झापा चोकमा गएर कोण सभामा सम्पन्न भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै भद्रपुर नगरपालिकाकी उपप्रमुख एवम् नगरको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल आयोजक समिति संयोजक राधा कार्कीले लैगिंक हिंसा न्यूनीकरणका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् ।लैगिंक हिंसा अन्त्यका लागि नगरपालिकाले वर्षैभरि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै उपप्रमुख कार्कीले लुकेर रहेका हिंसाका घटनालाई उजागर गरी पीडितलाई न्यायको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिइन् ।
विभिन्न सङ्घसंस्थाको आयोजनामा नगरमा १६ दिनसम्म विभिन्न कार्यक्रम गरिने नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन्। दिवसको अवसरमा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण, महिला हिंसा र कानुनी व्यवस्था सम्बन्धी सचेतना, घरदैलो कार्यक्रम, विद्यालय लक्षित लगायतका कार्यक्रम आयोजना गरिने उनले बताइन्।
कार्यक्रममा भद्रपुर नगर क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सामाजिक शाखाकी कर्मचारी सञ्जु कोइरालाले गरेकी थिइन् ।संयुक्त राष्ट्रसङ्घीय प्रणालीले यो दिवस मनाउने क्रममा महिलामाथि हुने हिंसा विरुद्ध जनचेतना जगाउने र समस्याहरूको पहिचान गरी तिनको समाधानका लागि राज्यहरूलाई कानुनी आधार तय गर्न सहकार्य गर्दै आएको छ । मानव अधिकार नै महिला अधिकार हो भनी वकालत गर्दै संयुक्त राष्ट्रसङ्घीय प्रणालीले त्यसको कार्यान्वयनका लागिसमेत जोड दिँदै आएको छ ।
यस वर्ष ‘महिला तथा बालबालिका विरुद्धको हिंसा रोक्न लगानीमा एकजुट’ अन्तर्राष्ट्रिय नाराका साथ मनाउन लागिएको यस अभियान मनाउने सन्दर्भमा नेपालमा पनि ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ देशव्यापी रुपमा मनाइँदै छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष १६ दिने अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा व्यापक कार्यक्रम गरी सातै प्रदेशमा प्रदेशस्तरीय विभिन्न जनचेतनामूलक र सन्देशमूलक तथा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।