२०८२ मंसीर १२ गते , शुक्रबार

रामजानकी विवाह महोत्सव : आज मटकोर विधि गरिँदै

sajilo news
झापा
२०८२ मंसीर ८ गते , सोमबार
रामजानकी विवाह महोत्सव : आज मटकोर विधि गरिँदै

जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको पाँचौँ दिन सोमबार मटकोर विधि गरिँदैछ। चौथो दिन तिलकोत्सव विधि पूरा भएसँगै पाँचौँ दिन मटकोर गर्न लागिएको हो। मटकोर विधिमा पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ। महोत्तरीको मटिहानीमा मटकोर विधि गरिन्छ। 

त्रेतायुगमा अयोध्याका राजकुमार राम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ। यसै विश्वासले मटिहानीमा विवाहको एक दिनअघि ‘मटकोर’ उत्सव गरिने लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णवले बताए।

‘मटिहानीमा रामजानकी विवाह महोत्सवको ‘मटकोर’ उत्सव मनाइने चलन छ’, वैष्णव भन्छन्, ‘यसमा मटिहानी नगरवासी र नेपाल-भारतका सन्तहरू सम्मिलित हुँदै आएका छन् ।’ 

माटो खन्न बाजागाजासहित महिला जाने गर्छन्। यसरी माटो खन्न जाने बेला महिलाले धानको भुस, चामल, बेसार, दही, फूल, पानको पात, सुपारी र अक्षतासहितका पूजा सामग्रीले भूमि पूजन गर्ने चलन छ।

छैटौँ दिन मंगलबार जनकपुरकै राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट निस्केका जानकीको डोला रङ्गभूमि मैदान पुर्‍याइनेछ। त्यहाँ स्वयंवर तथा सीतारामको विवाह हुनेछ। रामसीता विवाह सम्पन्न भएपछि रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ।

सम्बन्धित समाचार