२०८३ बैशाख २३ गते , बुधबार

शासन–प्रशासनमा पुस्तान्तरण : नागरिकले खोजेको दिगो आधार

sajilo news
राजबाबु शंकर
२०८२ मंसीर ७ गते , आईतबार
शासन–प्रशासनमा पुस्तान्तरण : नागरिकले खोजेको दिगो आधार

नेपालको राजनीतिमा दशकौंदेखि जमेको धुमाच्छन्न पर्यावरणलाई जेन्–जेड आन्दोलनको वर्षाले एकाएक सफा बनाइदिएको छ । दशकौंदेखि उही अनुहार, उही नारा र उही शासकीय शैलीले देशको राजनीतिलाई कज्याएको शिकायत जनपंक्तिमा व्यापक भइरहँदा परिवर्तन अपरिहार्य भएको हो । यसैको परिणामस्वरूप प्रायः सबै दलहरूमा युवा नेतृत्वको माग तीव्र रूपमा बढिरहेको छ ।

राजनीतिमा रूपान्तरको लहर आयो । युवा पुस्ता (जेन्–जेड) ले परम्परागत नेतृत्वलाई चुनौति दिएर बर्खास्त पनि गरे । भ्रष्ट शासकहरूलाई प्रतिस्थापन गर्ने अहम् र नतिजामुखी भूमिका निर्वाह गर्न सफल युवा पुस्ता अब सरकार हाँक्न सक्षम छन् त– भन्ने प्रश्न सँगसँगै उब्जिएको छ । यो सवाल युवा नेतृत्वप्रति अविश्वासका कारण नभएर शासकीय क्षमता कतिसँग छ, कति दिगो ढंगले अघि बढ्ला र जनअपेक्षा सम्बोधन गर्ला भन्ने जिज्ञासा वा संशय चाहिं अवश्य हो ।

 

नयाँ मतदाताहरूको यसपटकको उत्साह केवल नाम दर्ता गर्ने कार्यमा सीमित हुनु हुँदैन । यो उत्साह र चासो देशको नीति निर्माण तथा शासकीय प्रणालीलाई परिवर्तन गर्ने संकल्पमा प्रतिबद्ध पनि हुनु अत्यावश्यक छ । युवा पुस्ताले अब ‘भोट’ हाल्ने मात्र होइन, बरू ‘कसलाई र कस्तालाई भोट हाल्ने’ भन्ने विषयमा पनि चिन्ता र गहिरो चासो राख्न अपरिहार्य छ । अब नागरिकको जीवनस्तर, शिक्षा, रोजगारी र समग्र देशको विकासका एजेण्डाहरूलाई सम्बोधन गर्ने सक्षम, स्वच्छ, योग्य, इमान्दार र दूरदर्शी नेतृत्वको खोजीमा युवा पुस्ताको ध्यान केन्द्रित हुनु पर्दछ ।

खासगरी जेन्–जेड आन्दोलनपछि पुस्तान्तरणको बहसले मुख्य दलहरूभित्र आन्तरिक हलचल नै मच्चाएको छ । नेपाली कांग्रेसमा सभापतिले सक्रिय नेतृत्व त्यागेपछि नयाँ बाटोको संकेत त देखिएको छ, तर महाधिवेशनको विषयमा संस्थापन पक्ष र युवा पुस्ता (महामन्त्रीद्वय) बीच मतभेद कायमै छ । तत्काल महाधिवेशनको माग गर्ने युवा पुस्ता र चुनावपछि मात्र महाधिवेशन गर्न चाहने संस्थापन पक्षका कारण कांग्रेस तीन ध्रुवमा विभाजित छ । पुरानो पुस्ता अवसर गुमाउने डरले भन्दा पनि नेतृत्व हस्तान्तरणपछिको परिणामप्रति आश्वस्त हुन खोजिरहेका छन् ।

यही सेरोफेरोमा नेपालमा मतदाता नामावली संकलन एवम् अद्यावधिक कार्यक्रममा विशेषगरी नयाँ पुस्ताको उत्साहप्रद चासो देखियो । यसलाई लोकतन्त्रको भविष्यका लागि सकारात्मक संकेत मान्न सकिन्छ । निर्वाचन आयोगले पहिलो चरणमा कार्तिक ३० गतेसम्म र पुनः थप गरिएको ५ दिन (मंसीर ५ सम्मको) समयसीमाभित्र मतदाता नामावलीमा नाम दर्ता गराउन विभिन्न जिल्ला निर्वाचन कार्यालयहरूमा १८ देखि २५ वर्षसम्मका युवा–युवतीहरूको बाक्लो उपस्थितिले उनीहरू आफ्नो मताधिकारप्रति सचेत भएको र अब आगामी दिनमा देशको नेतृत्व चयन प्रक्रियामा सहभागी हुने दृढ संकल्पलाई उजागर गरेको छ ।

लगभग ३ दशकदेखि शासकीय एवम् प्रशासनिक बेवास्ता, राजनीतिक अस्थिरता र दलीय नेतृत्वप्रति बढ्दो वितृष्णाका कारण युवाहरू राजनीतिबाट टाढिएका वा विरक्त थिए । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै, आफ्नो राजनीतिक अधिकार सुनिश्चित गर्न युवाहरू यसरी विधिवत् अग्रसर हुनुले सक्रिय नागरिकताको भावना बलियो भएको लक्षण हो, यो । यसले नेपालको लोकतान्त्रिक अभ्यासलाई थप गतिशील बनाउन बल पु¥याउने अपेक्षा गर्न सकिन्छ ।

नयाँ मतदाताहरूको यसपटकको उत्साह केवल नाम दर्ता गर्ने कार्यमा सीमित हुनु हुँदैन । यो उत्साह र चासो देशको नीति निर्माण तथा शासकीय प्रणालीलाई परिवर्तन गर्ने संकल्पमा प्रतिबद्ध पनि हुनु अत्यावश्यक छ । युवा पुस्ताले अब ‘भोट’ हाल्ने मात्र होइन, बरू ‘कसलाई र कस्तालाई भोट हाल्ने’ भन्ने विषयमा पनि चिन्ता र गहिरो चासो राख्न अपरिहार्य छ । अब नागरिकको जीवनस्तर, शिक्षा, रोजगारी र समग्र देशको विकासका एजेण्डाहरूलाई सम्बोधन गर्ने सक्षम, स्वच्छ, योग्य, इमान्दार र दूरदर्शी नेतृत्वको खोजीमा युवा पुस्ताको ध्यान केन्द्रित हुनु पर्दछ । विशेषतः आजको जेन्–जेड पुस्ताले आसन्न निर्वाचन मार्फत युवा रोजगारी, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण, जवाफदेही शासन प्रणालीको स्थापना, वातावरण संरक्षण जस्ता खास विषयहरूलाई उच्च प्राथमिकता दिने नीति निर्माणमा आफ्नो सशक्त उपस्थिति दर्ज गर्ने अवसरको सदुपयोग गर्न जरुरी छ ।

समग्रमा, परम्परागत शासनाधिकारीहरूको गलत एवम् बेइमान रवैयालाई बहिष्कार गर्दै सुशासनअपेक्षु राजनीतिको विश्वस्त धरातल निर्माण गर्ने दूरसोच वा औडाहाले नै हुनु पर्छ– मतदाता नामावली दर्तामा युवा पुस्ताको अपूर्व उत्साह । त्यसले अबको युवा पुस्ता मूकदर्शक होइन, बरू रूपान्तरणका निम्ति सक्रिय संवाहक बन्न तयार रहेको सन्देश दिएको छ । अब खाँचो छ– यो उत्साह र चासोलाई दिगो रूप दिनु । लोकतन्त्रको जग नागरिकको सक्रिय सहभागितामै अडिएको हुन्छ र अहिले देखिएको नयाँ पुस्ताको जागरणले त्यो जगलाई बलियो बनाउन सक्छ– भन्नेमा दुईमत शायदै होला ।

जेन्–जेड आन्दोलनले नेपालको जडसूत्रीय र अस्थिर राजनीतिमा ज्वालामुखी फुटाएकै हो । जसले राजनीतिमा मार्ग परिवर्तनको मांग गरेको छ र जुन मांग युवा नेतृत्वको मांगसँग जोडिएको छ । दलहरूमा युवा नेतृत्वको आवाज बढेको छ । खासमा, अहिलेको अत्यावश्यक मांग आम युवाको सुशासनलक्षित सक्रियता र युवा नेतृत्व पनि हो । दुरुपयोग हुँदै आएको बजेट, अल्मलिएको विकास, हराएको सुशासन र भ्रष्टाचारले थलिएको शासन व्यवस्थामा युवा पुस्ताको सक्रियताले नयाँ सम्भावना र ऊर्जा बोकेर ल्याउने जनविश्वास जगाउनु आजको प्राथमिक आवश्यकता हो । जेन्–जेड आन्दोलनले शुरु गरेको परिवर्तनको जबर्जस्त लहर अब दलहरूको आन्तरिक सुधार र पुस्तान्तरणको सुनिश्चिततामा रूपान्तरित हुनु पर्दछ, जसले अबउसो देशको भविष्यलाई दिगो नेतृत्व प्रदान गर्न सकोस् ।

सम्बन्धित समाचार