हुथी अदालतद्वारा १७ जनालाई जासुसी आरोपमा मृत्युदण्ड
यमनको राजधानी सानास्थित हुथी नियन्त्रित विशेष फौजदारी अदालतले विदेशी सरकारका लागि जासुसी गरेको आरोपमा १७ जनालाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ ।
इरान समर्थित हुथी प्रशासनद्वारा सञ्चालित साबा समाचार एजेन्सीका अनुसार शनिबार सार्वजनिक रूपमा फायरिङ स्क्वाडद्वारा सजाय कार्यान्वयन गर्ने फैसला सुनाइएको हो । यो निर्णयलाई हुथीहरूले विदेशी एजेन्सीका स्थानीय कर्मचारीहरूमाथि वर्षौंदेखि गर्दै आएको कठोर दमनको पछिल्लो उदाहरणका रूपमा लिइएको छ ।
अदालतले दोषी ठहरिएका व्यक्तिहरूलाई ‘अमेरिकी, इजरायली र साउदी गुप्तचर निकायसँग सम्बद्ध जासुसी सञ्जालभित्र सक्रिय’ रहेको दाबी गर्दै उनीहरूले २०२४–२०२५ को अवधिभर यमनसँग शत्रुतामा रहेका विदेशी राज्यहरूसँग संवेदनशील जानकारी आदान–प्रदान गरेको आरोप लगाएको थियो ।
अभियोजनका अनुसार प्रतिवादीहरूले साउदी अरेबिया, बेलायत, संयुक्त राज्य अमेरिका र इजरायलको मोसादसँग सहकार्य गर्दै राज्यका उच्च अधिकारीहरूको गतिविधि, मिसाइल सम्बन्धी विवरण र सैन्य तथा नागरिक संरचनाहरूका स्थानसमेत उपलब्ध गराए, जसका कारण दर्जनौँ मानिसको मृत्यु र पूर्वाधारमा व्यापक विनाश भएको थियो ।
अदालतले अरु एक पुरुष र एक महिलालाई १० वर्षको कैद सजाय सुनाएङ्को छ भने अर्को एक अभियुक्त निर्दोष घोषित भएका छन् । दोषी ठहरिएका केही प्रतिवादीका वकिल अब्दुलबासित गाजीले यस फैसलाविरुद्ध अपिल दर्ता गर्न सकिने बताए ।
हुथीहरूद्वारा नियन्त्रित क्षेत्रहरूमा पछिल्ला वर्षहरूमा गिरफ्तारी, जबर्जस्ती गायब पारिने घटना र कडा सजाय सामान्यजस्तै बनेका छन् । सन् २०१४ मा सुरु भएको यमनको गृहयुद्धपछि हजारौँ व्यक्तिलाई हिरासतमा लिइएको छ, जसमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरू समेत परेका छन् ।