क्रिकेट खेलेर घर फर्केका भाइको मृत्यु, दाजु सिकिस्त
घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्केका दाइ–भाइमध्ये बेहोस भएर भाइको मृत्यु भएको छ । शनिवार बिहान सप्तरीको शम्भुनाथ नगरपालिका–१ निवासी १३ वर्षीय राकेश यादवको यसरी मृत्यु भएको हो । खेल मैदानबाट घर फर्के लगत्तै आँगनमा बेहोस भई ढलेका उनको तत्कालै मृत्यु भएको बुवा किसुनदेव यादवले बताए ।
सँगै घर फर्केका १६ वर्षीय दाजु रुपेश भाइ लडेर बेहोस भएको देख्न साथ उनी पनि बेहोस भई ढलेको उनको भनाई छ । रुपेशको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
मृत्युको कारण भने खुल्न सकेको छैन । एकथरीले खेल मैदानको साइडमा रहेको झारपातमा विषालु सर्पले डसेको हुन सक्ने अनुमान गरेका छन् भने अर्को थरीले विषादीयुक्त खानेकुराले त्यस्तो घटना भएको हुनसक्ने अनुमान व्यक्त गरेका छन् ।
मृत्युको यकिन कारण खोतल्ने प्रयास गरिरहेको प्रहरी नायव उपरीक्षक पुरीले बताए । उनले मृत्युको कारण यकिन गर्न शनिवार नै मृतकको शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइ थप अनुसन्धान भइरहेको जनाएका छन् । राजधानी दैनिकबाट