राष्ट्र सेवक साकोसको शेयर पुँजी एक करोड ५८ लाख बढी, ६ जना सम्मानित
भद्रपुर । भद्रपुर-१० चन्द्रगढीस्थित राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरूलाई सम्मान गरेको छ ।
वीरेन्द्र नमुना क्याम्पसको सभा हलमा शनिवार संस्थाको २६ औं वार्षिक साधारण सभाको अवसरमा पदाधिकारी र कर्मचारी गरी ६ जनालाई सम्मान गरिएको हो । लामो समयदेखि संस्थामा योगदान पुर्याउने सञ्चालक समितिका अध्यक्ष वशिष्ठ अधिकारी, सचिव नवराज पोखरेल, सहसचिव सीता गुरागाईँ, सदस्य भोजप्रसाद पौडेल र व्यवस्थापक अनुज खतिवडा, लेखापाल नूतन पौडेललाई सम्मान गरिएको हो ।
नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वर्तमान तथा भावी योजनाको बारेमा जानकारी गराएका थिए । २०५५ साल चैत १८ गते ३६ जना शेयर सदस्यले ३९ हजार शेयर पुँजीबाट सुरु गरिएको यस संस्थामा हाल ८३८ जना शेयर सदस्य रहेका छन् । हाल संस्थाको शेयर पुजी एक करोड ५८ लाख ७४ हजार ५ सय रुपैयाँ रहेको उनले बताए ।
संस्थाको लेखा समिति परीक्षण प्रतिवेदन बाबुराम पोखरेलले प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डिल्ली ढकालले राखेको कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेलले गरेका थिए ।