झापामा १० वटा खसीबाख्रा र ५० वटा कुखुरासहित गोठ जलेर नष्ट
झापाको अर्जुनधारामा आगलागीबाट १० वटा खसी बाख्रा र ५० वटा कुखुरासहित गोठ जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा दुईजना घाइते भएका छन् । गएराति ११ः३० बजे अर्जुनधारा –१० चोथाई बस्ने बलबहादुर दाहालको गाई गोठमा अचानक बिजुली सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट गोठमा रहेका १० वटा खसी बाख्रा र ५० वटा बोईलर कुखुरासहित गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट अन्दाजी १३ लाख २५ हजार बराबरको क्षति भएको छ । बिर्तामोड र मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान २ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगो निभाउने क्रममा दाहालकी श्रीमती वर्ष ४२ की छत्रकुमारी थापाको दुवै हात आगोले पोलेको छ भने सोही ठाउँ बस्ने वर्ष ७० की भीमादेवी भण्डारी लडेर घाइते भएकी छन् । दुवै जना घाइते शंकर अस्पताल शनिश्चरेमा उपचारपश्चात् डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।