जानकी मन्दिरलाई विवाह मण्डप जस्तै सिङ्गारियो
जनकपुर । धार्मिक तथा ऐतिहासिक महोत्सव बोकेको जनकपुरधाममा साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव हिजोदेखि सुरु भएको छ।
जानकी मन्दिरका उत्ताराधिकारी रामरोसन दासका अनुसार विगत वर्ष जस्तै यस वर्ष जानकी मन्दिरलाई विवाह मण्डप जस्तै सिङ्गारिएको छ। साथै सुरक्षा व्यवस्था कडा पारिएको छ। जानकी मन्दिरको सरसफाइ, पण्डाल निर्माण, झिलिमिली बत्ती, मञ्च तयारीदेखि सांस्कृतिक कार्यक्रमका संरचनासम्म मन्दिर व्यवस्थापनले साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको तयारी पूरा गरेको उनले बताए।
साथै साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधाम नगरदर्शन, शुक्रबार फूलवारी लिला, शनिबार धनुषा यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मटकोर, मङ्गलबार स्वयंवर तथा शुभ विवाह र बुधबार रामकलेवा हुँदै समापन हुने कार्यक्रम तालिका जानकी मन्दिरले सार्वजनिक गरेको छ। भारतको बिहार, उतरप्रदेश, राजस्थानसहित नेपालको सात प्रदेशका हिन्दू धर्मालम्बीहरु दर्शनका लागि आउने गरेको रामरोसन दासले बताए।